फिफा फुटबल फर स्कुल कार्यक्रम बाँकेमा शुभारम्भ

नेपालगन्ज : बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम शुभारम्भ भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोग र बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको कार्यक्रमको एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङ र नेपालगन्ज उप–महानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले संयुक्त रुपमा आइतबार उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै एन्फा अध्यक्ष नेम्वाङले फुटबलको माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्नका लागि फिफा फुटबल फर स्कुल कार्यक्रम महत्वपूर्ण रहेको बताए । उनले भने, ‘हामी निकै खुसी छौं । फिफाको अवधारणा अनुसार यो कार्यक्रम एक हजारभन्दा धेरै विद्यालयमा पुगिसकेको छ । यस्तो कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिन यहाँका स्थानीय तह, एन्फा बाँके, फुटबल क्लब र स्थानीयबासीलाई म अनुरोध गर्दछु ।’
नगर प्रमुख विष्टले फुटबलको विकासमा उपमहानगरपालिकाले सहकार्य गरेर अगाडि बढ्न तयार रहेको प्रतिबद्धता जनाए । उनले भने, ‘खेलकुदका कार्यक्रममा फुटबल अगाडि छ । हामी खुसी लाग्छ बालबालिकालाई फुटबलको माध्यमबाट भएपनि शारीरिक र मानसिक रुपमा बलियो बनाउने प्रयास भैरहेको छ । यो अहिले हाम्रो समाजलाई निकै आवश्यक कार्यक्रम हो । यसमा हामी सहकार्य गर्नेछांै ।’ उनले ग्रासरुट फुटबललाई नियमित गराउन बजेट बिनियोजन गर्ने पनि वचन दिए । फिफा फुटबल फर स्कुल कार्यक्रमले बाँकेमा फुटबल संस्कृतिको विकास गर्न सहयोग गर्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रीय सदस्य शाही दाबी गर्छन्, ‘बाँकेबाट फुटबलका नयाँ प्रतिभा उत्पादन गर्न हामीले योजना बनाएर काम गरिरहेको छौं । त्यो अभियानमा फिफा फुटबल फर स्कुल कार्यक्रम महत्वपूर्ण सावित हुनेछ ।’
नेपालगन्ज रंगशालामा ८ देखि १२ वर्ष उमेर समूह बालबालिकाहरुलाई बाँके जिल्ला फुटबल संघले चार महिना अघिदेखि हप्ताको दुई दिन निःशुल्क रुपमा प्रशिक्षण गराउँदै आएको बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्री बताउँछन् । नेपालगन्ज रंगशालामा तीन सय बालबालिकाहरुले बिहिबार र शुक्रबार प्रशिक्षण गरिरहेका छन् । जिल्लाका अन्य स्थानीय तहमा यो कार्यक्रम विस्तार गरेर बालबालिकालाई फुटबल प्रशिक्षण गराउने योजना रहेको खत्रीले बताए ।
नेपालगन्ज रंगशालामा भएको कार्यक्रममा बाँके जिल्लाका निजी तथा सामुदायिक २५ भन्दा बढी विद्यालयका करिब ३ हजार बालबालिकाको सहभागिता रहेको थियो । उद्घाटनको दिन नेपालगन्ज रंगशालामा ८ देखि १२ वर्ष उमेर समूहका खेलाडीहरुले प्रशिक्षणसँगै मैत्रीपूर्ण अभ्यास खेल खेलेका थिए । रहेको थियो ।









