पत्रकार योगी बने ठाकुरबाबा नगर अस्पतालको अध्यक्ष

भुरिगाउँ (बर्दिया) : बर्दियाको ठाकुरबाबा नगर अस्पताल व्यवस्थापन समितिको अध्यक्ष पत्रकार चिरञ्जीवी (भावुक) योगी मनोनित भएका छन् ।
ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले शुक्रबार पत्रकार योगीलाई नगरपालिकाले सन्चालनमा ल्याएको आधारभूत नगर अस्पतालको अध्यक्ष पदमा मनोनित गरेका हुन् । नगर प्रमुख लम्साल र उपउप्रमुख विना भट्टराईले शुक्रबार नै योगीलाई मनोनयन पत्र हस्तान्तरण गरेका थिए ।
नगर प्रमुख लम्सालले ठाकुरबाबा नगरपालिकाको स्वास्थ्य क्षेत्रको विकासमा नवनियुक्त अध्यक्ष योगीबाट अमूल्य योगदान रहने विश्वास ब्यक्त गरे । नगरपालिकाले विगत ३ वर्षदेखि १५ शैयाको आधारभूत नगर अस्पताल सन्चालन गरिरहेको छ ।
ठाकुरबाबा–३, नेउलापुर निवासी योगी झण्डै दुई दशकदेखि बर्दियामा पत्रकारिता गरिरहेका छन् । रेडियो टाइगर बर्दियाका प्रबन्ध निर्देशक एवं नेपाल पत्रकार महासंघ बर्दिया शाखाका निवर्तमान उपाध्यक्ष हुन् । उनी ललितपुरको उज्यालो नेटकर्वमा पनि काम गर्छन् ।