यु-१४ फुटबल : नेपालगन्ज सेन्ट जेभियर्स छात्रा टिम फाइनलमा
नेपालगन्ज : नेपालगन्ज सेन्ट जेभियर्स स्कुलको छात्रा टिम बाँकेमा जारी एन्फा यु-१४ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रंगशालामा सोमबार भएको खेलमा नेपालगन्ज सेन्ट जेभियर्स टिमले वेस्टजोन हाईस्कुललाई २–० ले पराजित गरेको छ । नेपालगन्ज सेन्ट जेभियर्सको जितमा कप्तान लक्ष्मी बुढा मगरले १०औं मिनेटमा र आकृति यादवले १६औं मिनेटमा गोल गर्नु भयो । प्रतियोगिताको उपाधिको लागि नेपालगन्ज सेन्ट जेभियर्सले होलिल्याण्ड स्कुलसँग प्रतिस्पर्धा गर्नेछ ।
यसैगरी छात्र तर्फको फाइनलमा सिद्धार्थ विद्या सदन नेपालगन्ज र कोहलपुर बागेश्वरी इङलिस मिडियम स्कुलले प्रतिस्पर्धा गर्नेछन् । नेपालगन्ज रंगशालामा सोमबार भएको सेमिफाइनलमा सिद्धार्थ विद्या सदनले एकतर्फी नतिजा निकाल्ने क्रममा ग्रीनपिस मावि कोहलपुरलाई ९–१ ले हराएको छ ।
सिद्धार्थको जितमा लेकराज भारतीले ह्याट्रिक गरे । उनले खेलको १५औं, ३०औं र ५०औं मिनेटमा गोल गरेका थिए । सिद्धार्थका अविशेष चौधरी र कमल परियारले २–२ गोल गरे । अविशेषले ४६औं मिनेट र ५०औं मिनेटमा गोल गरेका थिए । कमलले ३५औं र ४१औं मिनेटमा गोल गरेका थिए । खेलमा अपर्ण बोहराले ४ मिनेट, विनायक हमालले ४३औं मिनेट गोल गरे । ग्रीनपिसका रोहनले सुरुआती २ मिनेटमै गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए तर यो अग्रता लामो समय टिक्न सकेन ।
अर्को खेलमा कोहलपुर बागेश्वरीले युनाइटेड एजुकेशनल एकेडेमीलाई १–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । कोहलपुर बागेश्वरीको जितमा सोहन जैसीले १०आंै मिनेटमा गोल गरे ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा भैरहेको प्रतियोगितालाई लुम्बिनी प्रदेश स्तरीय यु–१४ छनोट खेलका रुपमा लिइएको छ । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुले प्रदेश स्तरीय प्रतियोगितामा बाँकेको प्रतिनिधित्व गर्ने अवसर पाउने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउँछन् ।








