एक्टिङ स्टार नवीनालाई डब्लुडब्लुजे बाँकेको सम्मान
नेपालगन्ज : अभिनयमा आधारित रियालिटी शो एक्टिङ स्टारको उपाधि विजेता नवीना रानाभाटलाई नेपालगन्जमा सम्मान गरिएको छ ।
क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) बाँकेले संस्था स्थापनाको १८औं वार्षिकोत्सवको अवसरमा शनिबार नेपालगन्जमा आयोजित समारोहमा रानाभाटलाई सम्मान गरेको हो । संस्थाकी केन्द्रीय अध्यक्ष रामकला खड्का, लुम्बिनी प्रदेश अध्यक्ष लीला शाह र जिल्ला अध्यक्ष सावित्री गिरीले संयुक्त रुपमा रानाभाटलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेकी हुन् । एपीवान टेलिभिजनबाट प्रसारण भएको रियालिटी शो एक्टिङ स्टारमा नेपालगन्जकी चेली नवीनाले २९ असोज २०८२ मा उपाधि जितेकी थिइन् ।
संस्थाले सो अवसरमा नेपालगन्जकी पत्रकार सन्ध्या गैरेलाई उदाउँदो पत्रकारका रुपमा सम्मान गरेको थियो । दैनिक नेपालगन्ज पत्रिकामा कार्यरत गैरेलाई नगद दुई हजार एक सय रुपैयाँ, सम्मानपत्र र दोेसल्ला ओेढाएर सम्मान गरिएको थियो । गैरे जिल्लामा कार्यरत सम्भवतः सबैभन्दा कान्छी पत्रकार हुन् ।
त्यसैगरी जिल्लामा क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)को शाखा स्थापना गर्ने बरिष्ठ पत्रकार अक्षरी पोखरेललाई पनि सम्मान गरिएको थियो । सो अवसरमा संस्थाले महिलाका विषय केन्द्रीत हाम्रो आवाज नामक स्मारिकाको तेस्रो अंक पनि विमोचन गरिएको थियो । स्मारिकामा पत्रकार महिलाले समाजका विभिन्न क्षेत्रमा स्थापित अग्रणी महिला र महिलाका विषयमा ३२ वटा खोजमूलक सामग्री लेखेका छन् ।









