बाँकेका पत्रकार महिलाद्वारा १० बुँदे घोषणापत्र जारी

नेपालगन्ज : बाँकेमा पत्रकार महिलाको भेलाले १० बुँदे घोषणा पत्र जारी गरेको छ ।
क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)बाँकेले १८औं वार्षिकोत्सवको अवसरमा शनिबार नेपालगन्जमा आयोजना गरेको भेलाले पत्रकार महिलाहरुको व्यवसायिकता र दक्षता अभिवृद्धिका लागि घोषणा पत्र जारी गरेको हो । घोषणापत्रमा पत्रकार महिलाको पेशागत हकहितका लागि सक्रियता बढाउने, क्षमता विकासका कार्यक्रम र प्रविधिवारे जानकारी गराउने, मिडियालाई लैंगिकमैत्री बनाउनका लागि सन्चार संस्थालाई लैंगिक निर्देशिका जारी गर्नका लागि खबरदारी गर्ने उल्लेख छ ।
त्यसैगरी मिडिया हाउसहरुमा पत्रकार महिलाहरुको नेतृत्व बढाउनका लागि पहल गर्ने, कार्यस्थलमा हुने यौनजन्य हिंसा तथा दुव्र्यवहारविरुद्धका सचेतनामूलक कार्यक्रम सन्चालन गर्ने, महिला पत्रकारका लागि डिजिटल सुरक्षा तालिम, अनलाइन दुव्र्यवहार प्रणालीमा र तत्थ जाँचमा जोड दिने, पत्रकार महिलाका लागि खोज पत्रकारिता तालिम, फेलोसिप र लेखनवृतिको अवसर प्रदान गर्ने र बाँकेमा कार्यरत पत्रकार महिलाहरुको अवस्था, चुनौती र अवसरका विषयमा अध्ययन तथा अनुसन्धान गर्ने घोेषणा पत्रमा उल्लेख छ ।
यसअघि डब्लुडब्लुजेको ८औं वार्षिकोत्सव समारोहको संस्थाका केन्द्रीय अध्यक्ष रामकला खड्काले उद्घाटन गरेकी थिइन् । अध्यक्ष खड्काले पत्रकार महिलाको संख्यात्मक र गुणात्मक विकासका लागि क्रियाशील पत्रकार महिला संगठित भएको बताउँदै संस्थाले महिला पत्रकारका क्षेत्रमा काम गरिरहेको जानकारी दिइन् ।

संस्थाका लुम्बिनी प्रदेश अध्यक्ष लीला शाहले आर्थिक र सामाजिक कारण पत्रकार महिलालाई पत्रकारिता पेशामा टिकाइराख्न चुनौतीपूर्ण रहेको बताइन् । उनले राज्यका तीनै तहका सरकारलाई पत्रकार महिलाका लागि क्षमता अभिवृद्धिका कार्यक्रम सन्चालन गर्न सुझाव दिइन् ।
डब्लुडब्लुजे बाँकेका अध्यक्ष सावित्री गिरीको अध्यक्षता र उपाध्यक्ष विमला चौधरीले स्वागत गरेको कार्यक्रममा सञ्चारिका समूहको लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज, बाँके शाखा संस्थापक अध्यक्ष अक्षरी पोखरेल, नेपाल पत्रकार महासंंघ बाँके शाखा अध्यक्ष नवीन गिरी, उपाध्यक्ष करुणा शाह, नेपालगन्ज उपमहानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख पवित्रा पुरी, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य झलक गैरे, महासंघका पूर्वसभापति नीरज गौतम, बरिष्ठ पत्रकार शंकरप्रसाद खनाल, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, सञ्चारिका समूह बाँकेका अध्यक्ष पवित्रा परियार, प्रेस यूनियन बाँकेका उपाध्यक्ष कमल खत्री, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, महिला उद्यमी तारा रोकाय र एक्टिङ स्टार विजेता नवीना रानाभाट लगायतले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

सो अवसरमा वार्षिकोत्सवको केक काटेर उत्सव मनाइएको थियो ।