गुलरियाका ६६७ बालबालिकाले सेवन गरे स्वर्णविन्दु

संजय आचार्यगुलरिया
बर्दियाको गुलरिया नगरपालिकाका ६६७ जना बालबालिकाले स्वर्णविन्दु सेवन गरेका छन् ।
आयुर्वेद स्वास्थ्य केन्द्र गुलरियाले मंगलबार ३९३ बालक र २७४ बालिकालाई स्वर्णविन्दु सेवन गराइएको केन्द्रका सूचना अधिकारी वैद्य निरीक्षक लोकराज पाण्डेले जानकारी दिए । सेवन गर्नेमा पुराना सेवाग्राही बालक १८३ र बालिका १४७ गरी जम्मा ३३० जना र नयाँ सेवाग्राही बालक २१० र बालिका १२७ गरी ३३७ जना रहेको पाण्डेले बताए ।

आयुर्वेदको बालरोग सम्बन्धी ग्रन्थ काश्यप संहितामा वर्णन गरिएको लेह कल्पना विधि अनुसार स्वर्ण भष्म (सुनको धुलो)लाई ब्राह्मी घृत, मह (मह), तथा अन्य औषधीय द्रव्यसँग मिसाई उमेर अनुसार थोपाको रूपमा बालबालिकालाई सेवन गराइने प्रक्रियालाई स्वर्णविन्दु प्राशन भनिन्छ।
केन्द्रका निमित्त कार्यालय प्रमुख डा. एकराज भण्डारी स्वर्णविन्दु प्राशनबाट बालबालिकाको दीर्घकालीन स्वास्थ्य संरक्षण र रोगप्रतिरोधात्मक क्षमतामा सकारात्मक प्रभाव पर्ने बताउँछन् । उनले स्वर्णविन्दु प्राशनबाट बाल बालिकाको शारीरिक विकाससँगै मानसिक सुदृढता र रोगसँग लड्ने क्षमता बढ्ने विश्वास रहेको बताए ।
डा. प्रतिभा शर्माका अनुसार आयुर्वेदिक परम्परा अनुसार हरेक महिनाको पुष्य नक्षत्रको दिन बालबालिकाहरूलाई स्वर्णविन्दु प्राशन गराउने धार्मिक र वैज्ञानिक दुवै मान्यता रहिआएको छ। आयुर्वेद शास्त्र अनुसार यो दिन बालबालिकाको स्वास्थ्य र विकासका लागि अत्यन्त लाभदायक हुने डा.शर्माको दाबी छ ।

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वीकृत कार्यक्रम अनुसार हरेक महिनाको पुष्य नक्षत्रमा यो कार्यक्रम सञ्चालन गरिँदै आएको छ। बालबालिकाको शारीरिक, मानसिक तथा रोग प्रतिरोधात्मक क्षमताको अभिवृद्धिको उद्देश्यले केन्द्रले जिल्लामा यो कार्यक्रम दोस्रो पटक सञ्चालन गरेको हो। यस पटकको कार्यक्रम विशेष रुपमा गुलरिया नगरपालिकाका विभिन्न स्थानबाट आएका अभिभावक र बालबालिकाको उत्साहजनक सहभागितामा सम्पन्न भएको थियो।