शिक्षाको गुणस्तर बढाउन शिक्षक, विद्यार्थी र अभिभावक एकै थलोमा !

रमेशकुमार यादव कमैया डाँडा
बाँकेको राप्तीसोनारीमा शिक्षाको गुणस्तर बढाउन शिक्षक, विद्यार्थी र अभिभावकलाई एकै थलोमा राखेर उत्प्रेरणा कार्यक्रम गरिएको छ ।
राप्तीसोनारी ६ वडा शिक्षा समितिको आयोजनामा बिहीबार कमैया डाँडास्थित खेल मैैदानको खुला आकासमुनी शिक्षा क्षेत्रका मोटिभेटनर स्पीकर क्षेत्रप्रसाद ज्ञावलीमार्फत उत्प्रेरणा कार्यक्रम सञ्चालन गरिएको हो ।

उत्प्रेरक ज्ञवालीले विद्यार्थीले शिक्षासँगै र संस्कार सिक्नुपर्नेमा जोड दिए । उनले संस्कारी विद्यार्थीको नै शिक्षा राम्रो हुने अनुभव पनि सुनाए । बच्चालाई झुटो नबोल्न आग्रह गर्दै जेसुकै कुरा पनि साँचो बोल्न र असल बानी अपनाउन सिकाए । उनले जंगफुड र मोबाइलदेखि टाढा हुनु पनि विद्यार्थीका लागि फाइदाजनक भएकोे सुझाव दिए । शिक्षकअभिभावकलाई आफ्नो बच्चालाई माया र सम्बन्ध गाढा राख्न आग्रह गरे । बच्चाले भनेर होइन, देखेर सिक्ने हो भन्दै उनले अभिभावकको ध्यानाकर्षण गरे । उनले शिक्षकलाई आफ्नो छोराछोरी सम्झेर पढाउन आग्रह गरेका थिए । ज्ञवालीको झन्डै तीन घण्टासम्म लामो उत्प्रेरणा कार्यक्रममा काम, कर्तव्य र अधिकार सिकाउँदै सहभागीलाई भावुक बनाउँदै रुन बाध्य बनाएका थिए ।
कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाको वडा ६ मा ३ माध्यमिक विद्यालयसहित ५ सामुदायिक विद्यालय र तीन वटा संंस्थागत गरी ८ वटा विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावक गरी झन्डै २ हजार जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम राप्तीसोनारी ६ का वडा अध्यक्ष लवराज खरेलको अध्यक्षता र राप्तीसोनारी ७ का वडा अध्यक्ष रामलखन थारुको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।
वडा अध्यक्ष खरेलले शिक्षा क्षेत्रको विकास र गुणस्तर बृद्धिका लागि शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मकबाट प्रयास आवश्यक रहेको बताए । वडा अध्यक्ष खरेलले शिक्षक, अभिभावक र विद्यार्थीलाई जवाफदेही बनाएर गुणस्तरीय शिक्षाका लागि संयुक्त कार्यक्रम आयोजना गरिएको बताए ।

प्रमुख अतिथि रामलखन थारुले पनि राप्तीसोनारीमा शिक्षाको गुणस्तर सुधार गर्न शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिहरु मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।