स्व. राकेश स्मृति क्रिकेट : उद्घाटन खेलमा सनराइज स्कुल विजयी

संजय आचार्य । गुलरिया
बर्दियाको गुलरियामा स्वर्गीय कृष्णप्रसाद बस्याल ‘राकेश’ स्मृति स्कुल कप २०८२’ क्रिकेट प्रतियोगिता आइतबारबाट सुरु भएको छ।
जिल्ला क्रिकेट संघ बर्दियाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा जनज्योति बोर्डिङ स्कुललाई ४१ रनले पराजित गर्दै सनराइज बोर्डिङ स्कुल विजयी भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको सनराइज बोर्डिङ स्कुलले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६० रनको चुनौतीपूर्ण स्कोर बनायो। टोलीका आयुष यादवले २१ बलमा आकर्षक २८ रन बनाए भने सम्राट बिष्टले समान रन जोड्न ४२ बल खर्चिए। सक्षम बुढाथोकीले पनि १० रन जोडन सफल भएका थिए । बलिङतर्फ जनज्योतिकाका हार्दिक कडेल र प्रज्वलले समान दुई–दुई विकेट लिए।
जवाफमा १६१ रनको लक्ष्य पछ्याएको जनज्योति बोर्डिङ स्कुल निर्धारित २० ओभरमा १ सय १९ रनमै सिमित भयो। टीमका सजल विकले ३४ बलमा २७ रन, विवेक यादवले १८ रन र आलोक यादवले १७ रन बनाए। जनज्योतिलाई रोक्न सनराइजका निश्चल चौधरीले २ विकेट, विपिन चौधरी र भूपेन्द्र थापाले एक–एक विकेट लिए।

उत्कृष्ट प्रदर्शन गरेका आयुष यादव ‘म्यान अफ द म्याच’ घोषित भए भने सिमोन परियार ‘गेम चेन्ज अफ द म्याच’ घोषित भए। प्रतियोगिता मङ्सिर २१ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। आयोजकका संयोजक सिद्धार्थ श्रेष्ठका अनुसार प्रतियोगितामा बर्दिया जिल्ला भरिका १० विद्यालयको सहभागिता रहेको छ।
आगामी खेल मङ्सिर २२ गते जनता माध्यमिक विद्यालय बारबर्दिया–नेपाल राष्ट्रिय मावि बाँसगढीबीच (बिहान ९ बजे) र शम्भुशरण मावि र महाकवि माविबीच (दिउँसो १ बजे) खेल हुने आयोजकले जनाएको छ।