अटिजम भएका ब्यक्तिलाई हेरचाह सम्बन्धी नेपालगन्जमा निःशुल्क तालिम हुँदै
नेपालगन्ज : अटिजम भएका ब्यक्तिलाई हेरचाह सम्बन्धी नेपालगन्जमा निःशुल्क तालिम हुने भएको छ ।
नेपालगन्ज स्वीमिङ क्लब र आकार फाउण्डेसन मोरङले लायन्स क्लब अफ नेपालगन्ज पीएनएलएफ र युथसँगको सहकार्यमा अटिजम भएका व्यक्तिहरूका अभिभावक तथा हेरचाहकर्ताका लागि सोमबारदेखि नेपालगन्जको सिद्धार्थ कटेजमा २ दिने सीप विकास तालिम आयोजना गर्न लागेको कार्यक्रम संयोजक तथा क्लबका बरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले जानकारी दिए ।
तालिममा आकार फाउण्डेसन मोरङका संस्थापक/निर्देशक तथा मनोवैज्ञानिक प्रिसिमा थापा (असिमा)ले अभिभावकलाई अटिजम भएका बालबालिकासँग कसरी बस्ने ? उनीहरुको जीवनलाई कसरी सहज बनाउने ? उनीहरुलाई कसरी सहजीकरण गर्ने ? विषयको जीवनोपयोगी व्यवहार परिवर्तन सम्बन्धी सीपमूलक तालिम दिने कार्यक्रम रहेको छ ।
अटिजम कुनै रोग होइन । मष्तिस्कको एक विशेष अवस्था मात्रै हो । जुन असामान्य र अस्वीकृत व्यवहारको रुपमा देखिन्छ । मस्तिष्क र स्नायु कोषहरूको स्वाभाविक विकासक्रममा हुने असमान अवस्थाको रुप अटिजम हो । यसलाई नेपालीमा आत्मकेन्द्रित व्यवहार भनिन्छ । व्यक्तिको मस्तिष्कमा स्नायु कोषहरूको सञ्जालले राम्रोसँग काम नगर्दा सूचना प्रशोधनमा बाधा उत्पन्न हुन गई सामाजिक क्रियाकलाप, सञ्चार सीप र कल्पना शक्तिको विकासमा असर पुग्छ । जसले गर्दा सञ्चारमा विचलन, सामाजिक रूपमा घुलमिल हुन नसक्ने, पुनरावृत्ति, एकोहोरोपन, इन्द्रीयहरूको उतारचढावको फलस्वरुप वातावरण, व्यक्ति र वस्तुप्रति भिन्दै प्रतिक्रिया र व्यवहार देखाउँछन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ०का अनुसार विश्वमा एक प्रतिशत व्यक्तिमा अटिजम छ । युएस सेन्टर फर डिजेज कन्ट्रोल एण्ड प्रिभेन्सनको प्रतिवेदन अनुसार प्रति ३६ जना मध्ये एक जनामा अटिजम हुने उल्लेख छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ४ हजार ८८६ जना अटिजम भएका व्यक्तिहरू छन् । विश्व स्वास्थ्य संगठनले नेपालमा करिब तीन लाख मानिस अटिजमको प्रभावमा रहेको अनुमान गरेको छ ।








