‘अटिजम नियन्त्रणमा अभिभावक नै जिम्मेवार बन्नुपर्ने’

नेपालगन्ज : अटिजम भएका ब्यक्तिको हेरचाहमा अभिभावक नै मुख्य जिम्मेवार भए नियन्त्रण गर्न सकिने एक कार्यक्रममा वक्ताले जोड दिएका छन् ।
नेपालगन्ज स्वीमिङ क्लबले आकार फाउण्डेसन मोरङको सहयोग तथा लायन्स क्लब अफ नेपालगन्ज पीएनएलएफ र युथसँगको सहकार्यमा सोमबारदेखि नेपालगन्जमा सुरु गरेको अटिजम भएका व्यक्तिहरूका अभिभावक तथा हेरचाहकर्ताका लागि २ दिने सीप विकास तालिमको उद्घाटन शत्रमा बोल्ने सरोकारवालाले यस्तो जोड दिएका हुन् । तालिमका सहजकर्ता आकार फाउण्डेसनका निर्देशक मनोविद् प्रिसिमा थापा (असिमा)ले अटिजम भएका व्यक्तिप्रति उसको अभिभावकको नैै बढी आवश्यकता, कर्तव्य र जिम्मेवारी हुने बताइन् । उनले भनिन्, ‘बेस्ट थेरापिस्ट नै अभिभावक हो । उनीहरुबाट नै राम्रो हेरचाह हुनसक्छ ।’
कार्यक्रममा अर्का मनोविद् रक्षा रेग्मीले पनि अटिजम भएका ब्यक्तिले अस्वभाविक व्यवहार देखाउने भएकाले अभिभावक नै बढी संलग्न हुनुपर्ने र सहज र सकारात्मक वातावरणमा काम गर्नुपर्ने सुझाव दिइन् ।
भेरी अस्पताल नेपालगन्जका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री चापागाईले समाजमा अटिजमको केश प्रसस्त भएकाले रोकथामका लागि अभिभावकले सन्तानका लागि प्रसस्त समय दिनुपर्नेमा जोड दिए । उनले भने, ‘हामी संयुक्त परिवारबाट एकल परिवारमा पुगेका छौं । व्यस्त जीवनशैलीले सन्तानसँगै बस्ने र कुरा गर्ने फुर्सद नै छैन । उनीहरुसँग बोल्ने मान्छे नै छैन । ग्याजेटको भरमा बच्चालाई हुर्काउँदा यस्तो समस्या बढेर गएको छ ।’

नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेको अध्यक्षतामा सम्पन्न उद्घाटन शत्रमा क्लबका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक सूर्यमणि अधिकारीले उद्देश्यमाथि प्रकाश पार्दै समाजमा अटिजमको समस्या बढ्दै गएकाले समाजप्रति उत्तरदायित्व वहन गर्दै तालिम आयोजना गरेको प्रष्ट पारेका थिए ।

बाँकेका नेपालगन्ज र कोहलपुर क्षेत्रका ५ दर्जनभन्दा बढी अटिजम भएका ब्यक्ति, अभिभावक र हेरचाहकर्ताको सहभागिता रहेको तालिमको उद्घाटन जेष्ठ नागरिक महिला विराज सिंह र किड्स किङडम्सका अध्यक्ष माधव अधिकारीले गरेका थिए । तालिम मंगलबार पनि दिनभर सञ्चालन हुनेछ ।