बर्दियाको विद्या ज्योति नमुना माविले स्वर्ण महोत्सव मनाउँदै
संजय आचार्य । गुलरिया
बर्दियाको विद्या ज्योति नमुना माध्यमिक विद्यालय कण्ठपुर स्थापनाको ५० वर्ष पूरा भएको छ ।
बढैयाताल गाउँपालिका–८ मा रहेको विद्यालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानाध्यापक भक्तिसागर रेग्मीले आगामी ४ पुसदेखि १८ गतेसम्म दुई सातासम्म विविध कार्यक्रम आयोजना गरी स्वर्ण महोत्सव मनाउन लागेको जानकारी दिए ।
स्वर्ण महोत्सव अन्तर्गत शैक्षिक, खेलकुद, सांस्कृतिक तथा सामाजिक सेवा सम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गरिनेछ। कार्यक्रम अन्तर्गत आधारभूत तथा माध्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता, माध्यमिक विद्यालयस्तरीय भलिबल प्रतियोगिता, विद्यालयस्तरीय आन्तरिक खेलकुद, विविध सांस्कृतिक कार्यक्रम, स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम लगायतका गतिविधिहरू समावेश छन्।
त्यसैगरी, पूर्वशिक्षक–कर्मचारी तथा पूर्वविद्यार्थीहरूको पुनर्मिलन कार्यक्रम, वृहत् अभिभावक भेला, विद्यालयको ऐतिहासिक यात्राको प्रस्तुतिकरण, सम्मान पत्र तथा पुरस्कार वितरण कार्यक्रम पनि गरिने विद्यालयले जनाएको छ।
प्रधानाध्यापक रेग्मीले विद्यालयको शैक्षिक विकास र समग्र उन्नतिमा योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गर्दै स्वर्ण महोत्सवलाई विद्यालयको गौरवमय इतिहास स्मरण गर्ने र भविष्यको शैक्षिक यात्रालाई थप सुदृढ बनाउने अवसरका रूपमा लिन आग्रह समेत गरे। उनले समाजका हरेक तह र तप्काका व्यक्तित्वसँग साथ र सहयोगको अपील समेत गरे ।
महोत्सव सफलतापूर्वक सम्पन्न गर्न १९ वटा उपसमिति र ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बसन्तसिंह ठकुरीले जानकारी दिए।
स्वर्ण महोत्सवको मुख्य समारोह भदौ १७ गते आयोजना हुने छ। उक्त अवसरमा स्वर्ण स्तम्भ र सरस्वती मन्दिरको अनावरण, स्वर्ण स्मारिका विमोचन तथा दाता सम्मान कार्यक्रम सञ्चालन हुनेछन्।
अक्षयकोषका लागि झन्डै ९ लाख दान घोषणा
पत्रकार सम्मेलनकै क्रममा दाताहरूले ८ लाख ७६ हजार रुपैयाँ विद्यालयको अक्षय कोषका लागि नगद सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीय समाजसेवी रामचन्द्र थापाले २ लाख ५ हजार ५ रुपैयाँ, राधा तिवारीले आफ्ना चार बहिनीसँग मिलेर १ लाख ५५५ रुपैयाँ, विद्यालयका प्रधानाध्यापक भक्ति सागर रेग्मीले १ लाख २१ हजार १२१ रुपैयाँ तथा विद्यालयमा कार्यरत २८ जना शिक्षक तथा कर्मचारीबाट ४ लाख ५० हजार रुपैयाँ अक्षय कोषका लागि सहयोग गर्ने घोषणा गरिएको थियो । विद्यालयले स्वर्ण महोत्सवका लागि दाताहरूबाट करिब ३० लाख रुपैयाँ संकलन हुने अनुमान गरेको छ भने कार्यक्रम सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान छ।








