अटिजम सम्बन्धी तालिम पाएर अभिभावक खुसी
नेपालगन्ज : बाँकेमा पहिलो पटक अटिजम सम्बन्धी तालिम पाएर अभिभावकहरु खुसी भएका छन् ।
नेपालगन्ज स्वीमिङ क्लबले आकार फाउण्डेसन मोरङको सहयोग तथा लायन्स क्लब अफ नेपालगन्ज पीएनएलएफ र लायन्स क्लब अफ नेपालगन्ज युथसँगको सहकार्यमा नेपालगन्जमा सोमबार र मंगलबार दुई दिन आयोेजना गरेको अटिजम भएका व्यक्तिका अभिभावक तथा हेरचाहकर्ताका लागि २ दिने सीप विकास तालिमले खुसी दिएको हो ।
सुर्खेतका पूर्ण प्याकुरेलले बच्चामा अटिजम हुँदा चिन्तित बनाएको बेला तालिमले हाम्रा बच्चाले त एक्ट्रा अर्डिनरी पावर र बरदान ल्याएर जन्मिएको थाहा पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।
बर्दिया राजापुरकी सीता भट्टराईले पश्चिम नेपालमै पहिलो पटक अटिजम सम्बन्धी तालिम आयोजना भएर अटिजम भएको बच्चाको हेरचाह, खानपान र दैनिक कामकाजमा संलग्न हुने भन्नेबारे धेरै कुराको जानकारी पाएको बताइन् ।
बाँकेगाउँ नेपालगन्जका शिवजंग सिंहले दुई वर्ष काठमाडौं बसेर आएको भए पनि दुई दिनको तालिमबाट धेरै कुरा सिक्न पाएको भन्दै खुसी ब्यक्त गरेका थिए ।
काठमाडौंमा मात्र हुने अटिजम सम्बन्धी तालिम नेपालगन्जमै गर्न पाउँदा चिट्टा परे झै भएर दुई दिन पसल बन्द गरेर नै सहभागी भएको कोेहलपुरका नारायण पौडेलले प्रतिक्रिया दिए ।
अधिवक्ता सुनिता शर्माले पनि तालिमले अटिजम भएका बच्चाका लागि आफूहरुले केही नगरेको, झर्किने, गाली गर्ने, बच्चाको रुची र चाहाना अनुसार काम गर्न नसकेको अनुभूति भएको बताइन् ।
तालिमका सहजकर्ता आकार फाउण्डेसनका निर्देशक मनोविद् प्रिसिमा थापा (असिमा)ले तालिमका सहभागीसँगको अन्तरक्रियापछि अझै पनि धेरै अभिभावकमा घरमा अटिजम सम्बन्धी आधारभूत जानकारी नैै नभएको, उनीहरुको हेरचाह र खानपान व्यवस्थापन अन्यौलता भएकोे अनुभव सुनाइन ।
उनले नेपालगन्ज स्वीमिङ क्लबले निःशुल्क रुपमा तालिम आयोजना गरेर पुण्यको काम गरेको भन्दै प्रशंशा गरिन् ।
पौडी खेलको विकास गर्ने उद्देश्यले स्थापना गरिएको सामाजिक संस्था नेपालगन्ज स्वीमिङ क्लबले सामाजिक उत्तरदायित्व बहन गर्दै निःशुल्क रुपमा अटिजम सम्बन्धी तालिम आयोजना गरेको क्लबका अध्यक्ष केशवराज न्यौपाने बताउँछन् । उनले आगामी दिनमा अटिजम सम्बन्धी सचेतना कार्यक्रम र तालिमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।
तालिममा बाँके, बर्दिया र सुर्खेतका ७२ जना अभिभावक तथा हेरचाहकर्ताको सहभागिता रहेको नेपालगन्ज स्वीमिङ क्लबका कार्यक्रम संयोजक सूर्यमणि अधिकारीले जानकारी दिए ।
क्लबले तालिमका सहभागीहरुलाई प्रमाणपत्र पनि वितरण गरेको थियो ।









