जेन्जी आन्दोलनले बनायो महिला जनप्रतिनिधिलाई झन जिम्मेवार

सञ्चारिका समूह बाँकेले नेपालगन्जमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रम । फोटो सौजन्य : विद्युत्मा रैका

नेपालगन्ज : तीन तहकै महिला जनप्रतिनिधिहरुले जेन्जी आन्दोलनले जनताप्रति झन उत्तरदायी भएर सेवा प्रवाह गर्न जिम्मेवार बनाएको बताएका छन् ।
सञ्चारिका समूह बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको जेन्जी आन्दोलनपछिको सन्दर्भमा महिला जनप्रतिनिधिरूको मनोविज्ञान विषयक अन्तरसंवाद कार्यक्रममा वडा, पालिका, प्र्रदेशसभा र प्रतिनिधिसभा सदस्य रहेका महिला जनप्रतिनिधिहरुले आन्दोलनले राजनीतिमार्फत अझै बढी सेवा गर्नुपर्ने सिकाएको बताएका हुन् ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगीता सुवेदीले जनप्रतिनिधिको कामलाई जनताले नियालिरहेको र सेवा प्रवाहमा अझ बढी जिम्मेवार हुन सिकाएको बताइन् ।
आन्दोलनकारीले घरमा क्षति पुर्याएको घटना स्मरण गर्दै सुवेदीले समग्र देशकै हितमा काम गर्न र समाज बनाउन जेन्जीले आन्दोलन गरेको जिकिर गरिन् । कार्यक्रममा जेन्जी अभियन्ता प्रतिक्षा बस्नेतले जेन्जी आन्दोलनले जनप्रतिनिधिहरुलाई अझ जवाफदेही र जिम्मेवार भएर काम गर्नुपर्ने सन्देश दिएको दाबी गरिन् । कार्यक्रममा राजनीतिक विश्लेषक अर्जुन पोखरेलले पूराना दलका युवा पुस्ताले जेन्जी पुस्ताको नेतृत्व खोेजेको र नयाँ दलको सम्भावनालाई उजागार गरेको बताए ।
सञ्चारिक समूह लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराजले सहजीकरण गरेको कार्यक्रममा पूर्वराज्यमन्त्री हसिना खान, लुम्बिनी प्रदेशसभा सदस्य सुशीला बादी, कोहलपुुर नगरपालिकाको वडा नं. ११ का वडाध्यक्ष कल्पना शर्माले जेन्जीे आन्दोलनले राजनीतिक दल र जनप्रतिनिधिहरुलाई जनताप्रति उत्तरदायी नभए जुनसुकै बेला जनता जाग्ने खतरातिर सचेत गरेको स्वीकार गरेका थिए । कार्यक्रममा प्यानलिस्टहरुसँग सहभागीहरुले जिज्ञासा राखेका थिए ।