२० वर्षपछि कँडेल फेरि होटल व्यवसायमै
शंकरप्रसाद खनाल । नेपालगन्ज
बाग्लुङको बुर्तिवाङ (ढोरपाटन नगरपालिका–४)बाट २०६० सालमा नेपालगन्ज आउँदा चन्द्रमणि र बुद्धिसरा कँडेलले नेपालगन्जमा होटल व्यवसाय रोज्नुभयो ।

शशीधर र भूमिसरा कँडेलका ५ भाइ छोरामध्ये जेठा चन्द्रमणि बाँके आएपछिका दिन सम्झनुहुन्छ, ‘पुष्पलाल चोकमा सुरुका दुई वर्ष होटल धौलागिरी चलायौं । त्यसपछि बसपार्क क्षेत्रमा आफ्नै घरमा झन्डै आठ दश वर्षसम्म शान्त होटल पनि चलायौं । धम्बोझीमा हाम्रो पीसीओ पनि थियो ।’

संयुक्त परिवारमा मिलेर बसेका दुई छोराबुहारी जेठा ऋषि र कान्छा प्रकाशले सेतु विक चोक र धम्बोझीमा इलेक्ट्रोनिक्स व्यवसाय धानिरहेका छन् । छोरासँगै दुबै बुहारी (जेठी मनिषा पोखरेल र कान्छी सिर्जना पौडेल) पनि व्यवसायमै जोडिन्छन् । कँडेल फुर्सदिला बन्नुहुन्छ । संघर्षबाट मुकाम निर्धारण गर्नु भएका उहाँ खाली बस्न रुचाउनु हुन्न । कहिले धम्बोझीमा कान्छो छोेराबुहारीले सम्हालिरहेको कान्तिपुर इलेक्ट्रोनिक्स (मोबाइल पसल) त कहिले जेठो छोराबुहारीको मुख्य जिम्मेवारी रहेको सेतु विक चोकमको आफ्नै घरको कान्तिपुुर इलेक्ट्रोनिक्स प्लाजा (मोबाइल र इलेक्ट्रोनिक्स अरु सामानसमेत)को पसलमा बसेर सघाउनु हुन्थ्यो ।

सेताम्य कपालमाथि सधैं ढलक्क ढाँका टोपी ढल्काउने सौम्य अनि शान्त २०२१ साले कँडेललाई फेरि पनि पुरानै पेशामा फर्किनुहोला भन्ने नै थिएन । केही वर्ष अघि दुबई घुम्न गएका बेला त्यहाँको सुविधा सम्पन्न रिसोर्टमा बस्दा यस्तै होटल नेपालगन्जमा पनि बनाउन पाए हुन्थ्यो भन्ने मनमा लड्डु फुटेको थियो । निर्माणाधीन पाँच तले होटलको माथिल्लो तलमा बसेर मेरोखुसीसँग एक दिन कँडेलले अनुभव सुनाउनु भएको थियो, ‘हाम्रा पालाका जस्ता होटलको अब काम छैन । ग्राहकले सुविधा खोज्छन् । कोठापिच्छे शौैचालय, तातोपानी आउने, २४ घण्टा एसी, कोठामा कतै एउटा बेड छन् । कतै दुई वटा छन् । स्टार होटलको जस्तै सबै सुविधा दिने गरी निर्माण भइरहेको छ ।’
नेपालगन्जको धम्बोझी चोकमा ७ करोड रुपैयाँमा राही मार्ट किनेका कँडेलले अरु ८ करोड रुपैयाँ खर्चेर होेटल होटल कान्तिपुर प्लाजा निर्माण गर्नु भएको छ । पाँच तलमा बनेको यो टु स्टार लेवलको बजेट होटल हो । जहाँ २७ वटा सुविधा सम्पन्न कोठा छन् । स्टार होटलको सुविधा खोज्नेलाई २ वटा विशेष स्वीट रुम छन् । होटलमा ६० जना क्षमताको आधुनिक सभा हल, ५० जना क्षमताको स्तरीय रेष्टुरेन्ट र ३० सिट क्षमताको कफी क्याफे छ । सानो सानो मिटिङ कक्ष पनि छन् । होटलको प्रवेशद्वारको सटरमा एप्पल स्टोर छ । होटलमा रंग संयोजनदेखि पूर्वाधार निर्माणमा नविनतम् लुक्स दिन कुनै कन्जुस्याइ गरिएको छैन ।
१२ वर्षमा खोलो फर्कन्छ भन्छन्, कँडेल पूरानो व्यवसायमा फर्कन २० वर्ष लाग्योे । कसरी होटल बनाउने योजना बन्यो त ? ‘राही मार्ट किनियो । यति ठूलो घर होटल भन्दा बाहेक अरुमा सदुपयोग होला भन्ने नै लागेन । हामीलाई होटल खोल्नुपर्ने बाध्यता आइलाग्यो’, होटल कान्तिपुर प्लाजाको उद्घाटन हुनु अघि अण्डरग्राउण्ड कार्यालयमा खुसीको लामो सास फेर्दै उहाँले भन्नु भएको थियो, ‘मार्ट किनेको पैंसा भन्दा होटल बनाउन बढी खर्च लाग्यो । छत, सिँढी र लिफ्ट बाहेक सबै नयाँ बनेको छ । कस्तो थियो ? कति राम्रो भयो ?’
होचो कदका उहाँले नेपालगन्जको मुटु धम्बोझीको आफ्नै होटलको सबैभन्दा उचाइबाट अब सहरलाई नियाल्न पाउनु हुनेछ । जहाँबाट नगर कँक्रिटको जंगल राति धपक्कै बलेको मनमोेहक दृश्य अवलोकन गर्नु हुनेछ । युवा अवस्थाको उत्तराद्र्धमा पुख्र्यौली थातथलो छोडेर नयाँ मुलकको प्रमुख सहर नेपालगन्जमा होटल व्यवसायमा थाल्नु भएका कँडेल बुद्ध अवस्थामा पाइलो टेकिरहँदा इलेक्ट्रोनिक्स व्यवसायको सफलतापछि फेरि उस्तै जोश जाँगरका साथ होटल व्यवसायमा लागिरहनु भएको छ ।
ढोरपाटन शिकार आरक्ष जस्तो पर्यटकीय क्षेत्रका उनी पश्चिम नेपालको टुरिजम गेटवे नेपालगन्जमा हस्पिटालिटी क्षेत्रबाट सम्भावना खोजिरहनु भएको छ । छेवैमा बडेमानको फोर स्टार होटल सिटी प्यालेस छ । मुस्किलले एक किलो मिटरको दुरीमा एउटा फाइभ स्टार (सोल्टी)सहित आधा दर्जन फोर स्टार होटलले ग्राहक पर्खिरहेको बेला सहरको मुटुमा सस्तो र सुविधा सम्पन्न बजेट लेवलको होटलबाट उहाँ आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्दै हुनुहुन्छ । जहाँ उहाँका छोरा ऋषि र प्रकाश खम्बा बनेर सघाइरहनु भएको छ । घर परिवारका सदस्य भन्दा बाहेक उहाँले एउटा होटल र दुई वटा इलेक्ट्रोनिक्स पसलमा गरी झन्डै ५० जनालाई रोजगारी नै दिनु भएको छ । आर्थिक मन्दीको मारमा परिरहेका उद्योगी व्यवसायीका लागि एकताबद्ध कँडेल परिवार पक्कै पनि हौसला र प्रेरणा बन्नसक्छ ।








