मानसिक समस्यामा हुनुहुन्छ ? मनोपरामर्श सेवाका लागि नेपालगन्जमा खुल्यो मनोसाहारा
नेपालगन्ज : मनोपरामर्शकर्ता रक्षा रेग्मीले मनोवैज्ञानिक सम्बन्धी सम्पूर्ण सेवा दिन नेपालगन्जमा मनोपरामर्श केन्द्र मनोसाहारा नेपाल सञ्चालनमा ल्याउनु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदो चोक नजिकै सञ्चालनमा ल्याएको मनोसाहाराको सञ्जीवनी कलेज अफ मेडिकल साइन्सका र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कन्सल्टेन्ट (नसा तथा मानसिक रोग विशेषज्ञ) डा. अनुप उपाध्यायले आइतबार उद्घाटन गर्नुभयो ।
उद्घाटन गर्दै डा. उपाध्यायले नसा तथा मानसिक रोग विशेषज्ञ र मनोपरामर्शदाता एक अर्काको सहयोगी भएर काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मनोपरामर्शदाता र नसा तथा मानसिक रोग विशेषज्ञ सँगै हुन्छन् । । यो टिमवर्क हो । मिलेर काम गर्नुपर्छ । कहिले डाक्टरले मनोपरामर्शदातालाई बिरामी पठाइरहेका हुन्छन् भने कहिले क्रिटिकल अवस्थामा पुगेको बिरामीले मनोपरामर्शकर्ताले डाक्टरसँग रिफर गर्नुपर्छ ।’
सानो उमेरदेखि नै मनोपरामर्शको आवश्यकता रहेको उहाँको भनाइ थियो । आत्महत्या गर्र्नेमा धेरै मानसिक रोग कारक भएको उहाँको दाबी थियो ।
उहाँले भन्नुभयो, ‘मान्छे हाँसेको छ । बोलेको छ । खाना खाएको छ । सुतेको छ तर विस्तारै यस्ता मानसिक रोगका लक्षणहरु देखिन थाल्छ । उपचारमा जाँदा धेरै मानसिक समस्या देखा पर्छन् । यो मानसिक रोग लुकेको अवस्थामा हुन्छ ।’
‘फिजिकल हेल्थलाई निकै महत्व दिइएको देखिन्छ । टाउको दुख्यो, पेट दुख्यो भने अस्पताल जाने, अझ औषधि आफै किनेर ल्याउने देखिन्छ’, कार्यक्रममा मनोसाहाराका सञ्चालक रेग्मीले केन्द्र खोल्नुपर्ने कारणबारे भन्नुभयो, ‘मानसिक रोगमा भने हामी बोल्न डराउने, लाज मान्ने, समाजमा पनि मानसिक समस्या झेल्नेलाई हेयको दृष्टिले हेरिन्छ । उसको मनोबललाई दबाउने काम हुन्छ । यस्ता कार्यलाई रोक्न मनोपरामर्श दिने उद्देश्यले मनोसाहारा खुलेको हो ।’ उहाँले विद्यालय स्तरबाट सेवालाई प्राथमिकतामा राखेर काम गर्ने योजना सुनाउनुभयो ।
उहाँले अनुभव सुनाउनु भयो, ‘विद्यार्थीमा एकदमै एक्लोपनको समस्या देखिन्छ । साथी बनाउन नमान्ने, अरुसँग बस्न नसक्ने र मनोबल कमजोर भइसकेको अवस्था देखिन्छ । त्यस्ता विद्यार्थीलाई सहयोग गर्न र काम गर्न हामी तयार छौं ।’
हरेक ब्यक्तिलाई आफ्नो मनोभावना बुझ्न सक्षम बनाइ जीवनमा आइपर्ने समस्या समाधान गर्न ब्यक्ति, परिवार, समाज, विद्यालय तथा सम्पूर्ण कार्यस्थलहरुका लागि परामर्श सेवा, मनोवैज्ञानिक मूल्याङ्कन र मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने मनोसाहाराले लक्ष्य लिएको छ । कार्यक्रममा शिक्षा, स्वास्थ्य, खेलकुद र पत्रकारिता क्षेत्रका व्यक्तिहरुले मनोपरामर्श सम्बन्धी सेवा दिने मनोेसाहाराको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।









