टीकापुरमा जुत्ताको सोलमा ब्राउन सुगर ल्याउँदै गरेका २ युवा पक्राउ
मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा जुत्ताको सोलमा लागूऔषध ब्राउन सुगर लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका इन्चार्ज प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीका अनुसार आइतबार साँझ एक पोका ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका हुन्।
प्रहरी चौकी सत्तीको बिटमा भारतको तिकुनियाबाट टीकापुरतर्फ आइरहेको अवस्थामा चेकजाँच गर्दा दाहिने खुट्टामा लगाएको जुत्ताको सोलमा लुकाएको अवस्थामा टीकापुर नगरपालिका वडा नं १ का वर्ष ३० को सागर रावल अर्का १७ वर्षिया जीवन कुँवरलाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको प्रहरी चौकी सत्तीका इन्चार्ज सुशील चन्द ठकुरीले बताउनुभयो । ईन्चार्ज चन्द ठकुरीका अनुसार भारतको तिकुनियाबाट सु प प्र ०१००८ प ८४७७ नम्बरको मोटर साइकलमा सवार रहेका दुवै जनालाई ट्राफिक चेकिङ्गका क्रममा पक्राउ गरिएको जनाएको छ। पक्राउ परेका दुबैलार्इ अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय टीकापुरमा हिरासतमा राखिएको डिएसपी प्रकाश डाँगीले बताउनुभयो।








