अमेरिकी दूतावासको प्रदेश स्तरीय उद्यम सीप विकास तालिम नेपालगन्जमा सुरु

नेपालगन्ज : प्रदेश स्तरीय उद्यम सीप विकास तालिम नेपालगन्ज सुरु भएको छ ।
नेपालस्थित अमेरिकी दूतावासकोे आर्थिक सहयोगमा इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट/आद्यन्त अड्भाइजरीले द ग्लोबल इम्प्याक्ट कलेक्टिभ र नेपालस्थित अमेरिकी वाणिज्य संघ र द ग्लोबल इम्प्याक्ट कलेक्टिभ लगायतसँगको साझेदारीमा लुम्बिनी र कर्णाली प्रदेशका उद्यमीहरुका लागि दुई दिने तालिम सोमबारदेखि नेपालगन्जमा सुरु भएको हो ।
तालिममा सफल पार्टनरर्सका संस्थापक आशुतोष तिवारीले उद्यम, उद्यमशीलता, व्यवसाय अवसर, जोखिम, प्रतिष्पर्धा, ग्राहक, उत्पादन लागत, मूल्य, मार्जिन, खर्च र बिक्रीको सैद्धान्तिक अवधारणा बताउँदै सहभागीलाई आफैंले सञ्चालन गरेको उद्यमसँग जोडेर प्रयोगात्मक अभ्यासको माध्यमबाट सिकाउनु भएको थियो ।

तालिमको उद्देश्यमाथि प्रकाश पार्दै आयोजक संस्था इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट/आद्यन्त अड्भाइजरीका कन्ट्री डाइरेक्टर रोशन घिमिरेले उद्यमीहरुलाई व्यापार व्यवसायका आधारभूत पक्ष बजारको पुष्टीकरण, लगानीकर्तासँगको सञ्चार, डिजिटल बजारीकरण र निर्र्यातसम्बन्धी तयारीमा तालिम केन्द्रित रहेको जानकारी दिनुभयो । यी मूलभूत दक्षताले उद्यमीहरूलाई आफ्ना नवीन सोचलाई रोजगारी सृजना गर्ने, व्यापार बढाउने र नेपालको दीर्घकालीन आर्थिक वृद्धि गर्ने किसिमका व्यवहार्य कम्पनीहरूमा रूपान्तरण गर्न मद्दत गर्ने उहाँकोे दाबी थियो ।
आयोजकले उपलब्ध गराएको प्रेस स्टेटमेन्टमा नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले भन्नु भएको छ, ‘बजारको मागअनुसार विस्तार गर्ने सकिने व्यवसायहरूको निर्माणमा नेपाली संस्थापकहरूलाई सहयोग गरी यस कार्यक्रमले नेपालको निजी क्षेत्रको सुदृढीकरण गर्नुका साथै अमेरिका र नेपालबीच व्यापार र वाणिज्य सहकार्यका नयाँ अवसरहरूको सृजना गर्छ ।’ व्यवसायका मोडेलहरूलाई परिष्कृत गर्न र उद्यमहरूलाई वृद्धि तथा अमेरिकी फर्महरूसँग साझेदारीका निम्ति तयार पार्न व्यवहारिक तालिम प्रदान गर्दै आएको उहाँले बताउनु भएको छ ।
पहिलो प्रारम्भिक चरणमा पहिलो चरणमा सातै प्रदेशमा दुई दुई दिन गरी करिब २०० उद्यमीहरू प्रत्यक्ष कार्यशाला गोष्ठीमार्फत नेपालभरका करिब २०० जना उद्यमीलाई दिगो व्यवसायहरूको निर्माण गर्न, लगानी आकर्षित गर्न र क्षेत्रीय तथा विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न आवश्यक व्यवहारिक सीपहरू प्रदान गरिनेछ । त्यसपछि ४ दिने भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्ने योजना रहेको छ ।
नेपालगन्जको तालिममा ३८ जना सहभागी छन् । यसपछि सुदूरपश्चिम प्रदेशको धनगढी, कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, बागमति प्रदेशको हेटौंडा, लुम्बिनी प्रदेशका बाँकी जिल्लाका लागि भैरहवा र गण्डकी प्रदेशको पोखरामा पनि आयोजना हुनेछ ।