नेपालगन्जमा जलाएर महिलाको हत्या !

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ कोरियनपुरमा एक जना महिलाको जलाएको अवस्थामा शव फेला परेको छ । २२ वर्षीया सिर्जना बुढा मगर मृत अवस्थामा सडक किनारमा शव फेला परेको थियो । आइतबार बिहान ९ः३० बजेतिर मात्र फोटो हेरेर आफन्तले शवको सनाखद गरेका थिए । फुपुको घरमा बस्ने मगरलाई आफन्त र स्थानीयले हत्या गरेर शव जलाएको दाबी गरेका छन् । मृतक मगरका फुपा चन्द्रबहादुर लामाले जिल्ला प्रहरी कार्यालय बाँकेमा ६ जनाबिरुद्ध दिएकोे किटानी जाहेरीमा परिवार नै मिलेर हत्या गरी पेट्रोल छर्केर जलाइएको दाबी गरेको नेपालगन्ज १२ का वडा अध्यक्ष तरुण बज्राचार्यले जानकारी दिए । जाहेरी लगत्तै प्रहरीले युककी आमा, दिदी र बहिनीलाई पक्राउ गरिसकेको छ । युवक, उनका बुबा र भाइ भने फरार छन् । फरार भएका कारण प्रहरीले युवकको नाम भने सार्वजनिक गरेको छैन ।
बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीका अनुसार शनिबार राति ११ः३० बजेतिर बुढाको जलेको अवस्थामा शव फेला परेको थियो । ‘शव नजिकै सलाई पनि भेटिएकोे छ । हत्या, हो वा आत्महत्या अहिले नै भन्न सकिने अवस्था छैन । पोस्ट्मार्टम रिपोर्ट आएपछि मात्र थाहा होला’, एसपी जिसीले भने, ‘परिवारले दिएको किटानी जाहेरीका आधारमा तीन जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।’
मृतक मगरले दुई दिन अघि आफूलाई कुटपिट भएको भन्दै एकजना युवकविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीले ती युवकलाई तत्काल पक्राउ पनि गरेको थियो । एसपी जिसीले प्रष्ट पारे, ‘अस्ती झगडा गरेर उजुरी परेको थियो । हामीले केटालाई नियन्त्रणमा लियौं । हिजो नै मिलापत्र भएको थियो । राति घटना भयो ।’ शव पोस्ट्मार्टमको लागि भेरी अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे सुक्ष्म अनुसन्धान जारी राखेको जनाएको छ ।








