दोस्रो योगिनी गोल्डकप फुटबल सुरु, आयोजक योगिनी ‘बी’ को रोमाञ्चक जित
समाचार सारांश
- खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले आइतबार दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन
- उद्घाटन खेलमा आयोजक योगिनी युवा क्लब ‘बी’ले ब्रदर्श एफसी खजुरालाई सडनडेथमा हरायो
- योगिनीका गोलकिपर एवम् कप्तान सुरज थापा प्लेयर अफ द म्याचबाट पुरस्कृत
नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकामा दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएको छ । खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले आइतबार प्रतियोगिताको उद्घाटन गर्नु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक योगिनी युवा क्लब ‘बी’ले ब्रदर्श एफसी खजुरालाई सडनडेथमा हराएको थियो । बाँके खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी माविको खेल मैदानमा निर्धारित समय दुबै टिमले गोलरहित बराबरी खेलेका थिए ।
पेनाल्टी सुटआउटमा दुबै टिमले ४–४ को बराबरी गोल गरेको थिए । पेनाल्टी सुटआउटमा पनि रोमाञ्चक बनेको खेलमा आठौ नम्बरमा आएका खेलाडी रितेश सुनारले निर्णायक गोल गर्दै योगिनीलाई सफलता दिलाउनु भयो । खेलमा उत्कृष्ट प्रदर्शन गर्नु भएका आयोजक योगिनीका गोलकिपर एवम् कप्तान सुरज थापा प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो ।
सुरजलाई प्रतियोगिताको प्रायोजक हरित सिर्जना सामुदायिक वन उपभोक्ता समितिका कार्यबहाक अध्यक्ष याम बहादुर थापा र प्रतियोगिताको इन्टरनेट पार्टनर टेकमाइन्ड प्रालीका बाँके–बर्दिया मार्केटिङ म्यानेजर विजय बुढाले पुरस्कृत गर्नु भयो । योगिनी युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा बाँके र बर्दियाका १३ टिमको सहभागिता रहेको छ ।









