बर्दियामा दलित भएकै कारण महिलामाथि हिंसा जारी !

संजय आचार्यगुलरिया
बर्दियामा दलित भएकै कारण महिला विभिन्न प्रकारका हिंसामा पर्ने गरेको एक अध्ययनले देखाएको छ ।
दलित महिला संघ बर्दियाको आयोजनामा बिहीबार गुलरियामा आयोजित दलित महिला तथा बालिकामाथि हुने हिंसाको अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै हिमा सुनारले दलित महिलाहरू दलित भएकै कारण विभिन्न प्रकारका हिंसामा पर्ने गरेको र दलित समुदायप्रति हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन नसकेको बताउनु भयो ।
जिल्लामा दलित महिला तथा बालिकाहरू घरेलु हिंसा, जातीय विभेद, यौनजन्य हिंसा, आर्थिक हिंसा, बलात्कार तथा नागरिकता र जन्मदर्ता सम्बन्धी समस्याबाट प्रभावित भइरहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्लामा दलित महिला र बालिकाले भोगिरहेका विभिन्न प्रकारका हिंसा तथा समस्याबारे छलफल गरिएको थियो।

बर्दिया जिल्ला बार एसोसियनका अध्यक्ष खडानन्द तिवारीले समाजमा रहेको संकुचित सोच परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले स्रोत साधनको कमी भए पनि बर्दिया बारले पीडितलाई कानुनी सहयोग गर्दै आएको बताउनु भयो ।यसैगरी कार्यक्रममा सहभागी दलित अभियन्ताहरूले सम्बन्धित निकायमा पीडितसँग गरिने व्यवहार सन्तोषजनक नरहेको गुनासो गर्नु भएको थियो ।
सबै प्रहरी चौकीमा महिला प्रहरीको व्यवस्था गर्नुपर्ने माग समेत राखिएको थियो।
कार्यक्रमकी प्रमुख अतिथि गुलरिया नगरपलिका उपमेयर सावित्रा गौतमले पालिकाले दलित महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि स्थानीय तहले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरे लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले दलित महिला तथा बालिकाको अधिकार सुनिश्चित गर्न राज्यका निकायहरूबीच समन्वय आवश्यक रहेको र सचेतना कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।