दोस्रो योगिनी गोल्ड कप : सीतापुर युनाइटेड च्याम्पियन

खजुरा : सीतापुर युनाइटेड क्लबले दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सीतापुरले राइजिङ स्टार क्लबलाई २–० ले पराजित गर्दै च्याम्पियन बनेको हो ।
सीतापुर युनाइटेडको जितमा शम्भु थारु र संगम सारु मगरले १–१ गोल गर्नुभयो । शम्भुले खेलको ५५औं मिनेट र संगमले ६३औं मिनेटमा गोल गर्नु भयो । उपाधिसँगै विजेता सीतापुर युनाइटेड क्लबले ५१ हजार रुपैयाँ र उपविजेता राइजिङ स्टारले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगितामा सीतापुर युनाइटेडका अर्पण थारु सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले नगद ३ हजार ५ सय रुपैयाँ प्राप्त गर्नुभयो । प्रतियोगितामा उत्कृष्ट गोलकिपर सीतापुर युनाइटेडका विवेक थारु, उत्कृष्ट रक्षक सीतापुर युनाइटेडका विवेक थारु, उत्कृष्ट मिडफिल्डर राइजिङ स्टारका वसन्त पुन, उत्कृष्ट स्ट्राइकर सीतापुर युनाइटेडका सुदीप रानामगरले प्राप्त गर्नुभयो । विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले जनही २ हजार प्राप्त गर्नु भयो ।
प्रतियोगितामा अनुशासित खेलाडीको रुपमा आयोजक योगिनी युवा क्लब ‘ए’ का कप्तान गौरव थापा र उदयीमान खेलाडीको ट्रफी योगिनी युवा क्लब ‘बी’ का रवि खत्रीले प्राप्त गर्नुभयो ।
प्रतियोगिताको विजेता, उपविजेता, सर्वोत्कृष्ट र विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक तुफान, आयोजक योगिनी युवा क्लबक अध्यक्ष कमल पुन, खजुरा गाउँपालिका खेलकुद विकास समिति सदस्य सचिव छवि विष्ट, योगिनी युवा क्लबका संस्थापक अध्यक्ष तरिन्द्र थापा, हरित सृजना सामुदायिक वन उपभोक्ता समुहका कार्यवाहक अध्यक्ष यामबहादुर महतारा, योगिनी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकिशोर महतारा, गौघाट टोल विकास समिति अध्यक्ष नरेन्द्र भारती, खजुरा गाउँपालिका वडा नम्बर २ सदस्य लक्ष्यबहादुर ओली, प्रतियोगिता संयोजक गणेश राई लगायतले पुरस्कृत गर्नुभयो ।