भन्सार नतिरी १०० रुपैयाँको सामान पनि ल्याउन मिल्दैन !
नेपालगन्ज : भन्सारबाट एक सय रुपैयाँ भन्दामाथिको सामान ल्याउन नदिएको भन्दै नागरिक स्तरबाट आलोचना भइरहँदा नेपालको कानुनले त्यो रकम बराबरको सामान ल्याउन पनि रोकेको रहस्य फेला परेको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघले मंगलबार नेपालगन्जमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान तथा स्वदेशी बजार प्रबद्र्धन सम्बन्धी छलफल कार्यक्रममा नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले कानुन अनुसार त १०० रुपैयाँ बराबरकै सामान पनि ल्याउन रोकेको बताउनु भयो ।
कानुनका अनुसार स्थलमार्गबाट ओहोरदोहोर गर्दा एक सय रुपैयाँ मूल्यसम्मका निजी प्रयोगका बस्तु साथै ल्याए वा लागेमा भन्सार प्रमुखले औचित्य हेरी हसुल नलिइ छाड्न सक्ने व्यवस्था छ, यो व्यवस्थाले एक सय रुपैयाँको सामान पनि ल्याउन मिल्दैन नेपालगन्ज भन्सार कार्यालय प्रमुख जनार्दन पौडेलले प्रष्ट पार्नुभयो, हामीले कानुन कार्यान्वयन मात्र गरेका हौं ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङ, संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओली, संघका पूर्वअध्यक्ष नन्दलाल वैश्य, जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्मा, पत्रकार रविन्द्र घिमिरे, बाँके अटोमोबाइल्स एशोसियसनका अध्यक्ष नरेन्द्र ओली, कोहलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चक्र अधिकारी लगायतले १०० रुपैयाँ भन्दा माथिको सामान भन्सार तिरेर ल्याउने व्यवस्थाको गलत प्रयोग भएको धारणा राख्नुभयो ।









