नरैनापुरमा जिल्लाको २४% परीक्षण, ५५% संक्रमित

कोरोना परीक्षण अनुसारको प्रतिफल नरैनापुरमा देखिएको छ भने कम परीक्षण गराउँदा पनि धेरै प्रतिफल बैजनाथ गाउँपालिकामा आएको छ

नेपालगन्ज : बाँकेमा पीसीआर प्रविधिबाट चार हजार बढीको कोरोना परीक्षण गरिएको छ । परीक्षणको दायरा जति फराकिलो हुँदै गएको छ, त्यत्ति नै संक्रमितको संख्या पनि बढ्दै गएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बिहीबार बिहानसम्म बाँकेमा चार हजार एक सय ६५ जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्दा दुई सय १३ जना कोरोना संक्रमित फेला परेका छन् । सबैभन्दा बढी संक्रमित नरैनापुर गाउँपालिकामा एक सय १८ जना छन् । जहाँ एक जना युवाको कोरोनाबाट ज्यान पनि गइसकेको छ । जिल्लाको कूल संक्रमितको आधाभन्दा बढी ५५.३९ प्रतिशत त नरैनापुरकै छन् । परीक्षण पनि नेपालगन्ज उपमहानगरपालिकापछि नरैनापुरमा नै सबैभन्दा बढी भएको छ । जिल्लाको कूल कोरोना परीक्षणको झन्डै एक चौथाइ अर्थात २३.९१ प्रतिशत त नरैनापुरमै छ ।
जिल्लामा सबैभन्दा बढी कोरोना परीक्षण ३६.५६ प्रतिशत नेपालगन्ज उपमहानगरपालिकामा भएको छ । परीक्षण अनुसारको प्रतिफल भने नेपालगन्जबाट आएको छैन । नेपालगन्जमा अहिलेसम्म ३१ जना संक्रमित फेला परेका छन् । कम परीक्षण गरेर पनि धेरै जना संक्रमित फेला परेको भने बैजनाथ गाउँपालिका हो । जहाँ अहिलेसम्म ४१ जनाको परीक्षण गर्दा पाँच भागको एक भाग अर्थात ८ जना कोरोना संक्रमित भेटिएका छन् ।
कोहलपुर नगरपालिका र जानकी गाउँपालिकाबाहेक सबै स्थानीय तहमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । कोहलपुर र जानकीमा परीक्षण पनि निकै कम भएको छ । कोहलपुरको अधिकांश परीक्षण क्वारेन्टाइनमा बसेकाहरुको हो भने जानकी गाउँपालिकाको एक सय १३ जनाकोे परीक्षणको रिपोर्ट आउन बाँकी नै छ ।
‘जिल्लाको सबैै स्थानमा समान स्थानमा परीक्षण गर्नेभन्दा पनि जहाँ जहाँ पोजेटिभ भेटिएका छन् । त्यो ठाउँमा परीक्षण केन्द्रीत गरिएको हो । संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा कोरोना परीक्षण जारी छ’, कोरोना फोकल पर्सन श्रेष्ठ भन्छन्, ‘जति धेरै परीक्षणको दायरा बढ्दै गएको छ । संक्रमित पनि बढेका छन् ।’