कोहलपुर गोल्डकप सुरु, आयोजकले खोल्यो जितको खाता
कोहलपुर : बाँकेमा चौथो संस्करणको कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य र उप-प्रमुख संगीता सुवेदीले शान्तिका प्रतीक एकजोडी परेवा उडाएर कोहलपुर-२ मा निर्माणाधीन फुटबल रंगशालामा शनिबार प्रतियोगिताको उद्घाटन गर्नु भएको हो ।
उद्घाटन खेलमा आयोजक रेसिङ साहारा क्लब कोहलपुरले पञ्चकोशी युवा क्लब लम्की कैलालीलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । खेलको २४औँ मिनेटमा रेसिङ साहाराका डिफेन्डर जर्सी नंं. १५ का पेपेले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाउनु भएको थियो । खेलको ४४औँ मिनेटमा रेसिङ साहाराका जर्सी नं. ११ का खेलाडी फागुराम चौधरीले अर्को गोल थप्दै अग्रता दोब्बर बनाउनु भएको थियो । पहिलो हाफमा २-० को अग्रता बनाएको रेसिङ साहाराले खेलमा दबाब कायम राखेको थियो । पञ्चकोशीका खेलाडीहरुले खेलभरी केही राम्रा अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन् । दोस्रो हाफमा भने टोलीले सुधारिएको प्रदर्शन गर्दै आक्रमण बढायो । खेलको ८८औँ मिनेटमा पञ्चकोशीका ३० नं. जर्सीका कुशाग्र उप्रेतीले सान्त्वना गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका रेसिङ साहारा क्बलका पेपे म्यान अफ द म्याच घोषित हुनुभयो । उहाँले ट्रफीसँगै नगद ५,००० रुपैयाँ प्राप्त गर्नुभयो ।
वैशाख १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँ र उपविजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई आकर्षक पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक कर्णबहादुर बस्नेतले जानकारी दिनुभयो । प्रतियोगिताको दोेस्रो खेल आइतबार दिउँसो ४ बजे जस्ट जोन एफसी (नाइजेरिया) र रोयल फुटबल क्लब (कर्णाली) बीच खेल हुनेछ ।









