विद्युत नियमित गर्नसहित ८ बुँदे नेपालगन्ज घोषणापत्र जारी गर्दै महासंघ बाँकेको १५औं साधारणसभा सम्पन्न
नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाको १५औं वार्षिक साधारणसभा नेपालगन्ज घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । पत्रकार शंकरप्रसाद खनाल नेतृत्वमा सावित्री गिरी र कमल खत्री सदस्य रहेको समितिले घोषणा पत्र तयार गरेको थियो ।
साधारणसभा सम्पन्न हुनु अघि पत्रकार खनालले घोषणा पत्र वाचन गरेर मस्यौदा सुनाएपछि सामान्य संशोधनपछि ८ बुँदे घोषणा पत्र सभाले पारित गरेको थियो ।
घोषणा पत्रको १ नं. बुँदामा बाँकेमा विद्युत अनियमित हुँदा जिल्लामा सञ्चालित मिडियाहरु सञ्चालनमा कठिनाइ भएकाले नियमित रुपमा विद्युत आपूर्तिका लागि नेपाल विद्युत प्राधिकरणसँग माग गरिएको छ । त्यसैगरी पत्रकारको सुरक्षा ग्यारेन्टी गर्न, सरकारी विज्ञापन निजी र सामुदायिक मिडियालाई पनि उपलब्ध गराउन, सामाजिक सञ्जाल प्रयोगकर्ता पत्रकार नभएकाले उनीहरुले गरेका गल्ती कमजोरी पत्रकारले गरेको नभन्न, सञ्चारकर्मीलाई पत्रकार आचार संहिता पालना गर्न आग्रह र स्थानीय तहलाई सञ्चार नीति बनाउन माग गरिएको छ ।
साधारणसभाले पुरस्कृत पत्रकारलाई बधाइ दिएको छ भने केन्द्रिय परिषद् सदस्य खम्बप्रसाद पुनकी ममतामयी माता नदी मगर्नीको निधनमा श्रद्धाञ्जली पनि अर्पण गरेको छ ।
१० पत्रकार पुरस्कृत
महासंघको १५औं साधारणसभामा १० जना पत्रकार पुरस्कृत भएका छन् ।
माधवी स्वास्थ्य पत्रकारिता पुरस्कारबाट प्रियास्मृति ढकाल (बाँके) र रामप्रसाद चौहान (बर्दिया) पुरस्कृत हुनुभयो । सूूर्यनाथ गौतम स्वास्थ्य (मुटु रोग)त्रकारिता पुरस्कारबाट मधु पौडेल, रामकली–चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कार डिल्ली शाही, बेलमती शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कारबाट गणेश रावत र देवेन्द्रराज पौडेल, राम आधार–रामप्यारी पत्रकारिता पुरस्कारबाट पवित्रा परियार र सजल गैरे तथा आँखा स्वास्थ्य शिक्षा पत्रकारिता पुरस्कारबाट स्वास्थ्य पेज (संस्थागत)लाई पुरस्कृत गरिएको थियो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्री, बाँकेका प्रहरी प्रमुख अंगुर जिसी, महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, पूर्वअध्यक्ष नीरज गौतम, नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, जीवन शर्मालगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।
यसअघि महासंघका केन्द्रीय सचिव सविन प्रियासनले साधारणसभाको उद्घाटन गर्नुभएको थियो । साधारणसभाको उद््घाटन शत्रमा विभिन्न ब्यक्तिहरुले शुभकामना दिनु भएको थियो ।









