बर्दियाका सिडियो र एसपीलाई सम्मान !

संजय आचार्य । गुलरिया
वैदेशिक रोजगार ठगी न्यूनीकरणमा योगदान गरेको भन्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र बर्दियाका नेपाल प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सरोज पौडेललाई सम्मान गरिएको छ । आप्रवासी श्रमिक सञ्जाल लुम्बिनी प्रदेशले मंगलबार गुलरियामा आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर विष्टले प्रजिअ हमाल र एसपी पौडेललाई सम्मान गर्नु भएको हो ।

उहाँहरु दुबै जनालाई वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका श्रमिकलाई स्थानीय स्तरमै मेलमिलापमार्फत न्याय दिलाउन योगदान पुर्‍याउन सहयोग गरेकाले सम्मान गरिएको हो । प्रमुख अतिथि विष्टले वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न वडा र विद्यालय तहसम्म सचेतनामूलक कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले देखासिखीका भरमा जोखिमपूर्ण निर्णय नगर्न सबैलाई आग्रह गर्नुभयो। धेरै युवाले छिमेकी वा आफन्तको अनुभव सुनेरै विदेश जान हतार गर्छन्। यसले ठगीको जोखिम बढाउँछ। वडा तहदेखि विद्यालयसम्म सचेतना फैलाएर मात्र सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्न सुझाव समेत विष्टले दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हमालले स्नातक तहसम्म अध्ययन गरेका शिक्षित युवासमेत वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्ने गरेको बताउनु भएको हो ।
हमालले राहदानी वितरणकै क्रममा वैदेशिक रोजगारीसम्बन्धी आवश्यक सचेतना प्रदान गरिँदै आएको र जिल्ला प्रशासन, प्रहरी तथा स्थानीय तहको सहकार्यमा ठगी नियन्त्रणका प्रयास भइरहेको जानकारी दिनुभयो। वैदेशिक रोजगार ठगीका घटनाहरूमा पीडितलाई न्याय दिलाउन स्थानीय स्तरमै मेलमिलाप र समन्वयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै हमालले यस क्षेत्रमा निरन्तर प्रयास जारी राख्नुपर्नेमा जोड समेत दिनुभयो।
सम्मान कार्यक्रममा आप्रवासी श्रमिक सञ्जाल लुम्बिनी प्रदेशका उपाध्यक्ष हीरा खरालले लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये ७ जिल्ला छनौटमा परेको बताउनु भयो जसमा कपिलवस्तु, बर्दिया, रुपन्देही, अर्घाखाँची, पाल्पा, नवलपरासी र दाङ गरी सात जिल्ला रहेको जानकारी दिनुभयो।
वहाले वैदेशिक रोजगारसम्बन्धी मुद्दा समाधानमा बर्दिया जिल्लाले खेलेको सक्रिय भूमिकाको प्रशंसा गर्नुभयो। खरालले वैदेशिक रोजगारीका नाममा हुने ठगीले हजारौं श्रमिक र उनीहरूका परिवारलाई प्रभावित पारेको बताउन भयो । स्थानीय तहदेखि प्रदेश र संघीय सरकार सम्मको समन्वयले मात्र यसलाई रोक्न सकिने बताउँदै बर्दियाले यस क्षेत्रमा उदाहरणीय काम गरेको बताउनु भयो ।
वैदेशिक रोजगारी नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भए पनि ठगीका घटनाले श्रमिकहरूको विश्वास माथि धेरै असर पारेको छ। स्थानीय तहदेखि सुरु हुने सचेतना र समन्वयका प्रयासले दीर्घकालीन समाधान दिन सक्ने विश्वास व्यक्त गरिएको छ ।
वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न स्थानीय तहदेखि नै सचेतना अभिवृद्धि र तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको सुझाव कार्यक्रमका वक्ताहरुको रहेको थियो ।