बर्दियामा १० दिने विपद् व्यवस्थापन स्वयंसेवक तालिम सुरु
संजय आचार्य । गुलरिया
प्राकृतिक तथा गैरप्राकृतिक विपद्को उच्च जोखिममा रहेको बर्दियामा स्थानीय स्तरमै दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले १० दिने ुविपद् व्यवस्थापन स्वयंसेवक अनुशिक्षण तालिम सुरु भएको छ।
साउन २६ गतेदेखि भदौ ०८ गतेसम्म सञ्चालन हुने उक्त तालिमको उद्घाटन गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी अशोकराज भण्डारीले नेपाल बाढी, डुबान, कटान, आगलागी, चट्याङ, भूकम्प र सडक दुर्घटना जस्ता विभिन्न विपद्को जोखिममा रहेको बताउनुभयो। विपद्को समयमा सरकारी निकायभन्दा पहिले स्थानीय नागरिक नै घटनास्थल पुग्ने भएकाले विपद् जोखिम न्यूनीकरणमा उहाँहरूको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो।
विपद् जोखिम न्यूनीकरण र उद्धार कार्यमा स्थानीय स्वयंसेवकहरूको अहम र प्रभावकारी भूमिका रहेको बताउदै वहाले तालिममा सिकेका ज्ञान र सीपलाई केवल प्रमाणपत्रमा सीमित नराखी विपद्को समयमा व्यवहारमा उतार्न र सर्वप्रथम आफू सुरक्षित रहेर अरूको उद्धारमा खटिन आग्रह गर्नुभयो।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दियाका सशस्त्र प्रहरी उपरीक्षक दिनेशकुमार महतले विपद्को जोखिम र प्रतिकार्यबारे ज्ञान हुनु नै मुख्य कुरा भएको औंल्याउनुभयो । १० कार्यदिनको यो अनुशिक्षण तालिममा २५ जना सहभागीहरूलाई विपद् अघि अपनाउनुपर्ने सावधानी, जोखिम पहिचान, पूर्वसूचना, पूर्वतयारी, प्राथमिक उपचार, खोज तथा उद्धारका साथै आगलागी, बाढी र डुबान नियन्त्रणका व्यावहारिक उपायहरू सिकाइने बहाले बताउनु भयो ।
सशस्त्र प्रहरी बल, नेपाल नं। ३१ गण हे।क्वा बर्दिया, बी ग्रुप र प्लान नेपालको संयुक्त आयोजनामा गुलरिया नगरपालिका ८, सुरजपुरमा मंगलबार उक्त तालिमको औपचारिक समुद्घाटन गरिएको हो। कार्यक्रममा जिल्ला आपतकालीन सञ्चालन केन्द्र बर्दिया र स्थानीय आपतकालीन सञ्चालन केन्द्र बर्दियाको समेत समन्वय रहेको छ।








