नेपालगन्जका २५ अस्पतालमा लक्षित वर्गका लागि ९४ शैया निःशुल्क

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले नगरमा सञ्चालित २५ वटा अस्पतालमा लक्षित वर्र्गका लागि ९४ वटा शैया निःशुल्क व्यवस्था गरेको छ । उपमहानगरले अस्पताल सूचीकृत गरेर कम्तीमा २ शैयादेखि बढीमा १५ शैया निःशुल्क व्यवस्था गरेको बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । नगर प्रमुख प्रशान्त विष्टले निःशुल्क शैयामा भर्ना भएका लक्षित वर्गका बिरामीले सम्पूर्ण सेवा निःशुल्क पाउने बताउनु भयो ।
‘अस्पतालले लक्षित वर्गका लागि छुट्टाइएको शैया संख्या देखाउन मात्र नभएर नागरिकलाई सेवा दिनको लागि हो । विगतमा यो सुविधा लक्षित वर्गभन्दा हुने खानेले मात्र लिएका थिए । अब स्थानीय तहको सिफारिसका आधारमा लक्षित वर्गले नै पाउने छन्’, निःशुल्क शैयाको व्यवस्थाबारे नगरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अब कोही पनि लक्षित वर्गको नागरिक पैसा नभएको कारण स्वास्थ्य सेवाबाट बञ्चित हुुनुपर्दैन । अस्पतालले सेवा नदिएको गुनासो आएमा हामी कारबाहीका लागि सिफारिस पनि गर्नेछौं ।’
नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ ले विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि अस्पतालको कूल शैयाको १० प्रतिशत निःशुल्क उपचारका लागि छुट्टाउनु पर्ने व्यवस्था गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको नगर स्वास्थ्य ऐन २०७९ ले नगरमा सञ्चालित अस्पतालाई सूचिकृत गरी कानुन कार्यान्वयन गरेको हो ।
पत्रकार सम्मेलनमा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बम, उपमहानगरपालिकाका प्रवक्ता तथा नेपालगन्ज–१ का वडाध्यक्ष प्रमोद रिजाल र भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नाल निःशुल्क शैया र कार्यान्वयनको अवस्थाबारे जानकारी धारणा राख्नु भएको थियो ।