बर्दियामा २५ जना विपद् उद्धारका स्वयंसेवक उत्पादन

संजय आचार्य । गुलरिया
बर्दिया जिल्लामा २५ जना विपद् उद्धारका स्वयंसेवक उत्पादन गरिएको छ ।
प्रयास, प्लान इन्टरनेशनल नेपाल र बीग्रुपको आर्थिक सहयोगमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेडक्वार्टर बर्दियाको आयोजना तथा जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा गत साउन २६ गतेदेखि भदौ ८ गतेसम्म १० दिने समुदाय विपद् स्वयं सेवक आधारभूत तालिम दिएर स्वयंसेवक तयार गरिएको हो ।

गुलरियामा आयोजित समुदाय विपद् स्वयंसेवक आधारभूत तालिम तथा संयुक्त सिमुलेसन अभ्यास’ कार्यक्रममा बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले ​विपद्का बेला उद्धारमा खटिनुअघि उद्धारकर्ता स्वयं सुरक्षित हुनुपर्नेमा जोड दिनु भएको थियो ।आवश्यक सुरक्षा सावधानी नअपनाई उद्धारमा खटिँदा उद्धारकर्ताकै ज्यान जोखिममा पर्न सक्ने भएकाले आफ्नो सुरक्षा पहिलो प्राथमिकतामा हुनुपर्ने उहाँको जोड थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गणका डीएसपी संगीत भट्टले सिमुलेसन अभ्यासले विपद्का बेला तत्काल निर्णय लिने क्षमता, अन्तरनिकाय समन्वय र स्रोत व्यवस्थापनमा व्यवहारिक ज्ञान प्रदान गरेको बताउनु भयो।
सहभागी पूर्णिमा बस्तेतले तालिम प्राप्त गरेपछि आफूमा रहेको पानी र आगोको डर हटेको र उद्धारका महत्वपूर्ण सीप सिक्न पाएको अनुभव सुनाउनु भयो। अर्का सहभागी जयराम बिसीले एडभान्स तालिमको अवसर पाए विपद् व्यवस्थापनमा अझ प्रभावकारी रूपमा खटिन सकिने विश्वास व्यक्त गर्नुभयो।

तालिममा उत्कृष्ट भूमिका निर्वाह गर्ने सहभागीहरूलाई जिल्ला प्रशासन कार्यालयको समन्वयमा आगामी दिनमा एडभान्स तालिम र साइट भिजिटको व्यवस्था समेत गरिने जनाइएको छ । साथै, तालिम प्राप्त जनशक्तिको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको रोस्टरमा समावेश गरिने व्यवस्था रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।