नेपालगन्ज उद्योग वाणिज्य संघ कार्यसमितिको सपथ ग्रहण
नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेको नवनिर्वाचित कार्य समितिले एक सातापछि पद तथा गोपनीयताको सपथ ग्रहण गरेको छ । गत ६ भदौमा भएको निर्वाचनबाट निर्वाचित संघको कार्य समितिका अध्यक्ष चिरञ्जीवी ओलीलाई निर्वाचन आयुक्त अधिवक्ता तीर्थ ज्ञवालीले आइतबार सपथ ग्रहण गराउनु भएको थियो ।
लगत्तै अध्यक्ष ओलीले संघका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । सपथ लगत्तै निर्वाचन आयुक्त ज्ञवालीले कार्य समिति अध्यक्ष, पदाधिकारी र सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राई, लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्री र आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री भण्डारीलाल अहिर, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य लक्ष्मणराज पौडेल, प्रदेशसभा सदस्य मीना श्रेष्ठ, जिल्लास्थित राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरुले नवनिर्वाचित कार्य समितिलाई बधाइ तथा शुभकामना दिनु भएको थियो ।
सोही अवसरमा संघका निवर्तमान अध्यक्ष टंकबहादुर धामीले नवनिर्वाचित अध्यक्ष चिरञ्जीवी ओलीलाई पद हस्तान्तरण गर्नु भएको थियो ।

त्यसैगरी निवर्तमान महासचिव भीमबहादुर रानाभाटले नवनिर्वाचित महासचिव विष्णु श्रेष्ठलाई पद हस्तान्तरण गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष ओलीले आफ्नो तीन वर्षे कार्यकालमा संघलाई राजनीति मुक्त बनाएर सबै उद्योगी व्यवसायीको साझा संस्थाको रुपमा विकास गर्ने लगायतका प्रतिबद्धताहरु गर्नु भएको थियो । उहाँले उद्योगी व्यवसायीले भोग्दै गरेको समस्या समाधानका लागि पहल गर्ने पनि बताउनु भयो ।








