‘जेन्जी काल’ कविता संग्रहको विमोचन
नेपालगन्ज : बर्दियाका कवि निर्मलकुमार थापाको कविता संग्रह ‘जेन्जी काल’ कृतिको नेपालगन्जमा विमोचन गरिएको छ ।
कालपृष्ठ दैनिकले शुक्रबार नेपालगन्जमा आयोजना गरेको कृतिको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ साहित्यकार खगेन्द्र गिरी कोपिला, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी र कालपृष्ठ दैनिकका सम्पादक/प्र्रकाशक कमल खत्रीले संयुक्त रुपमा कृतिको विमोचन गर्नु भएको हो । कविता संग्रहमा २०८२ साल भाद्र २३ र २४ को जेन्जी आन्दोलन र त्यसपछिको मनोविज्ञानलाई समावेश गरिएको छ ।
लेखक थापा नेपाली साहित्यमा लेखक, कवि तथा सांस्कृतिक अभियन्ताको भूमिका निर्वाह गरिरहनु भएको छ । उहाँका लेखनमा विशेषगरी कविता, कथा, निबन्ध, दर्शन तथा गैरआख्यान समावेश हुने गर्दछन् । लेखक, साहित्यकार, कवि तथा सांस्कृतिक अभियन्ता थापा कलर र नेपाल सेन्टर इन्टरनेशनलका संस्थापक हुनुहुन्छ । उहाँले नेपाली कला साहित्य र संस्कृतिलाई अन्तराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै आउनु भएको छ ।
लेखक थापाले कविता संग्रह ‘जेन्जी काल’ कृति मार्फत जेन्जी आन्दोलन पछि देशको राजनीतिक, साँस्कृतिक र आर्थिक व्यवस्थालाई बुझाउने प्रयास गरेको बताउनु भयो ।
थापाको साहित्यिक यात्रा कविता संग्रह ‘प्रभात फेरी सन्ध्या’बाट सुरु भएको हो जुन सन् २००५ मा प्रकाशित भएको थियो । विशेषगरी उहाँको लेखनमा दर्शन, अध्यात्म, समकालिन समाज र मानव जीवनका प्रश्नहरुको महत्वपूर्ण विषयमा केन्द्रित भएको देखिन्छ । हालसम्म २२ वटा कृति प्रकाशित गरिसकेका लेखक थापाको ‘प्रभात फेरी सन्ध्या’ कविता संग्रह, ‘एकादेश’ निबन्ध, साहित्यिक कृति, ‘एकालाप’ कथा निबन्ध र कविताको संयोजन, ‘एकान्त’ कथा र दर्शनको मिश्रण, ‘जय श्रीकुबेरनाथ’ कविता संग्रह लगायतका रहेका छन् ।
साहित्यकार थापालाई कालपृष्ठको सम्मान
कालपृष्ठ दैनिकले लेखक थापालाई सम्मान गरेको थियो ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले लेखक तथा साहित्यकार थापालाई सम्मान गर्नु भएको हो । नेपाली साहित्य, कला तथा संस्कृतिको क्षेत्रमा थापाले पुर्याउनु भएको योगदानसँगै सिर्जनशील लेखन तथा साहित्यिक गतिविधिमार्फत नेपाली समाजको विकासमा गरेको योगदानको कारण थापालाई सम्मान गरिएको आयोजकले जनाएको छ ।









