बाँकेका प्रहरी प्रमुख जिसीले पूर्ण शान्ति पुरस्कार पाउने यस्तो छ कारण

नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले नेपाल प्रहरीको यो वर्षको पूर्ण शान्ति पुरस्कार पाउनु भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले ७१औं प्रहरी दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा गृह मन्त्री सुधन गुरूङले शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन र प्रविधिमा आधारित प्रहरी सेवा विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएबापत जिसीलाई ५१ हजार रुपैयाँ राशीको पुरस्कार प्रदान गर्नु भएको हो ।
जिसीको नेतृत्वमा बाँके प्रहरीले ‘इन्तजार मोहम्मद अरबी खाँको हत्या’, ‘सिर्जना बुढा मगरलाई जलाएर मारिएको घटना’, ‘अफ्सना बस्नेतको अपहरण तथा हत्या’ र ‘विशाल चन्द ठकुरीको हत्या’मा संलग्न फरार अभियुक्तलाई पक्राउ गरी सफल अनुसन्धान गरेको थियो ।
नेपाल प्रहरीको यस वर्षको पुलिस ब्याटन लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआइजी भूपेन्द्र खत्रीलाई प्रदान गरिएको थियो । सात प्रदेशमध्ये कार्यदक्षता मूल्याङ्कन अन्तर्गत लुम्बिनी प्रदेश प्रहरी कार्यालय पहिलो भएको छ ।









