बडादशैंको सातौं दिन : शक्तिपीठ बागेश्वरीमा भव्य फूलपाती कार्यक्रम

नेपालगन्ज : हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो चाड बडादशैंको सातौँ दिन शनिबार पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइएको छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । नेपालगन्जको शक्तिपीठ बागेश्वरीमा फूलपाती भित्र्याउने भव्य कार्यक्रम आयोजना गरिएको थियो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत बाँके जिल्लाका धेरै वटा मठ मन्दिरबाट यो वर्ष पनि शक्तिपीठ बागेश्वरीमा फूलपाती भित्र्याइएको थियो । राप्तीसोनारी गाउँपालिकाको भुवँर भवानी मन्दिर, खजुरा गाउँपालिकाको खजुरामा रहेका लक्ष्मीनारायण मन्दिर र मनकामना मन्दिर, कोहलपुर नगरपालिका अनि दुर्गा पुजा समिति कोहलपुरबाट बागेश्वरीमा फूलपाती भित्र्याइएको थियो ।

सो अवसरमा नेपालगन्जमा बाजागाजासहित भजन किर्तन गर्दै शोभायात्रा निकालिएको थियो । बाँके कला केन्द्रले नृत्य र गुल्मेली भजन समूहले भजन प्रस्तुत गरेको थियो ।
वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।