अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपमा ११ स्वर्ण जितेर सगरमाथा स्वीमिङ क्लबको अग्रता

नेपालगन्ज : नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप नेपालगन्जमा सुरु भएको छ ।
नेपालगन्ज स्वीमिङ क्लब बाँकेले आयोजना गरेको प्रतियोगिताको शनिबार नेपालगन्ज रंगशालास्थित पौडी पोखरी परिसरमा नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्नु भएको हो । नगर प्रमुख विष्टले खेलकुदको विकासका लागि उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनु भयो ।
प्रतियोगिताका इभेन्ट डाइरेक्टर सूर्यमणि अधिकारीका अनुसार दुई दिने प्रतियोगिताको शनिबार दिउँसो ३ बजेसम्म १७ वटा इभेन्ट सम्पन्न भएकोमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले ११ वटा स्वर्ण पदक जितेर अग्रता लिएको छ । नयाँ दिल्ली भारतको इलाइट स्वीमिङ एकेडेमीले ४ स्वर्ण, ललितपुरको रातो बंगला र मपिल क्यानेडिन स्कुल काठमाडौं एउटा एक स्वर्ण जितेर तेस्रो स्थानमा अग्रता लिइरहेका छन् ।
अन्डर ८ देखि अन्डर १७ तथा ओपन अर्थात १७ वर्ष भन्दा बढी उमेरका खेलाडिहरुले प्रतिस्पर्धा गर्ने छन । खेलाडीहरुका बिचमा फ्रि स्टाइल, बेष्टस्ट्रोक , ब्याकस्ट्रोक , बटरफ्लाइ , रिले र ब्यक्तिगत मेड्ले गरी ६ छुटटा छुटटै विधाका ८० वटा इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ । शनिबार केही प्रतियोगिताको हिट चरण सम्पन्न भइ आइतबार फाइनल प्रतिष्पर्धा हुनेछ ।
नेपाल स्वीमिङ एसोशियसनसंग सहकार्य गरेर आयोजन हुन लागेको नेपालगन्ज अन्तराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपमा देशका सबै प्रदेशका साथै भारतको दिल्ली र लखनउबाट १५० जना खेलाडीहरु सहभागी भएका छन् ।
च्याम्पियनसिपलाई नबिल बैकले टाइटल स्पोन्सर गरेको छ । स्वीमिङलाई प्रबद्र्धन गर्ने उद्देश्यले नेपालगन्जका स्वीमिङ खेलप्रेमी उद्योगी, ब्यवसायी, डाक्टर, इन्जिनियर, कानुन ब्यवसायी, चार्टर एकाउन्टेड , सञ्चारकर्मी लगायत नागरिक समाजका अगुवाहरुको पहलमा गठन गरिएको लुम्बिनी प्रदेशकै पहिलो स्वीमिङ क्लब हो ।











