भेरी अस्पतालका बिरामीमध्ये ४० प्रतिशत स्वास्थ्य बिमाका

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा सोमबार बिहान ११ बजेसम्म स्वास्थ्य बिमामा नाम दर्ता गर्न आउनेको निकै घुँइचो थियो । अस्पतालको ओपीडी कक्षमा पनि बिरामी खचाखच भरिएका थिए । शनिबार र आइतबार दुई दिनको विदापछि खुलेको अस्पतालमा किन बिरामीको घुँइचो लागेको हो भनेर मेरोखुसीले खोजी गर्दा उपचारमा आएका मध्ये ४० प्रतिशत बिरामी त स्वास्थ्य बिमा कार्यक्रमबाट लाभ लिइरहेको पत्ता लाग्यो ।
३ बजेपछि ओपीडी बन्द भइसकेपछि अस्पतालको सूचना प्रविधि शाखाका दिपेश आचार्यबाट पाएको जानकारी अनुसार सोमबार दिउँसो ४ बजेसम्म अस्पतालमा एक हजार २८३ जना बिरामीले पर्चा काटेकोमा ५११ जनाले स्वास्थ्य बिमा कार्यक्रमको सेवा लिएको देखियो । जुन अस्पतालमा सेवा लिन आउने कूल बिरामीमध्ये ३९.८२ प्रतिशत हो । सोमबार सोही अवधिमा अस्पतालमा आपतकालीन सेवा लिने १९ बिरामीमध्ये २ जनाले स्वास्थ्य बिमा कार्यक्रमको लाभ उठाएको अस्पतालले जनाएको छ ।
चालु आर्थिक वर्षमा भेरी अस्पतालबाट ६५ हजार ८४३ जनाले उपचार सेवा लिइसकेको अस्पतालको रेकर्डमा देखिन्छ । स्वास्थ्य बिमा कार्यक्रमप्रति बिरामीको भरोसा बढेको छ । यही कारण अस्पतालमा बिरामीको भीड थेगिनसक्नुछ ।