एनपीएल : पोखरा एभेन्जर्सको सानदार पुनरागमन
नेपालगन्ज : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को अंक तालिकामा सबैभन्दा पुछारमा रहेको पोखरा एभेन्जर्सले पाँचौ खेलमा सानदार पुनरागमन गरेको छ ।
पोखराले सोमबार कर्णाली याक्सलाई ६३ रनको फराकिलो अन्तरले हराएर यो संस्करणको आफ्नो पाँचौं खेलमा पहिलो पटक जित दर्ज गरेको हो । पोखराको जितमा युवराज शम्राको शतक र कुशल भुर्तेलको अर्धशतक बनेको थियो ।
क्यानेडियन खेलाडी युवराजले ४८ बलमा १०२ रन र भुर्तेलले ७ छक्काको मद्दतले ३९ बलमा ६२ रन बनाए । टस जितेर पहिले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा पोखराले २१७ रन बनायो । जवाफमा कर्णालीले १८ ओभर ३ बलमा अलआउट हुँदै १५४ रन मात्र बनाउन सक्यो । सोमबार दोस्रो खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच भइरहेको छ । साँझ ६ बजेर २० मिनेट जाँदासम्म १५.४ ओभरमा काठमाडौँ गोर्खाजले ४ विकेटको क्षतिमा १३७ रन बनाएको छ ।










