बाँकेमा प्रथम लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुँदै, तयारी पूरा
नेपालगन्ज : बाँकेमा पहिलो पटक लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुन लागेको छ । प्रतियोगिताको तयारी पूरा भएको छ ।
राप्तीसोनारी गाउँपालिकाको समन्वयमा अगैयामा सञ्चालन हुने प्रतियोगितामा प्रदेशका १२ वटै जिल्लाका खेलाडी सहभागी हुने भृकुटी तेक्वान्दो डोजाङका संयोजक उमा थापाले जानकारी दिनुभयो ।
भृकुटी तेक्वान्दो डोजाङको आयोजनामा मंसीर ५ र ६ गते हुने प्रथम लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा प्रदेशभरीका १ सय ४४ जना खेलाडी, १२ जना प्रशिक्षक, २१ जना रेफ्री, ४ जना ज्यूरी १० जना प्राविधिक सहभागी हुँदैछन् । प्रतियोगिताअन्तर्गत मंसीर ४ गते तौलमापन हुने प्रशिक्षक एवं प्रतियोगिता संयोजक चन्द्रप्रकाश श्रेष्ठले बताउनुभयो ।
अगैयामा रहेको नेरा माविमा हुने प्रतियोगिताको उद्घाटन राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले गर्ने आयोजकले बताएका छन् ।
प्रतियोगितामा पुम्से र गेरुगी दुई विधामा प्रतिस्पर्धा हुनेछ । तेक्वान्दो खेलको विकास र विस्तार गर्न, प्रदेशस्तरीय खेलाडी उत्पादन गर्न, युवामा अनुशासन र आत्मविश्वास बढाउन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी तयार गर्न, खेलकुदमार्फत सामाजिक एकता र भाइचारा बढाउन प्रतियोगिता आयोजना गरिएको प्रशिक्षक श्रेष्ठले बताउनुभयो । प्रतियोगिताका लागि १५ लाख बजेट अनुमान गरिएको छ ।
प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको आयोजक भृकुटी तेक्वान्दो डोजाङका संयोजक थापाले बताउनुभयो । प्रतियोगितालाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि व्यवस्थापन, आर्थिक र प्राविधिकलगायत समिति बनाइएको छ ।










