प्रेस युनियन लेखनवृत्ति प्रतियोगितामा चौधरी प्रथम
नेपालगन्ज : नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार महिला लेखनवृत्ति प्रतियोगिता-२०८३ मा विमला चौधरीले लेखेको स्टोरी प्रथम भएको छ । चौधरीको थारु लेहङ्गको बढ्दो मागसँगै चम्किँदै गीताको उद्यमशीलता, मासिक डेढ लाख आम्दानी शीर्षकको स्टोरी उत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो ।
प्रतियोगितामा ममता थापाले लेखेको घुँघट र अशिक्षाको पर्खाल भत्काएर सत्ताको जिम्मेवारी सम्हाल्ने आँट गरेका जनप्रतिनिधि शीर्षकको स्टारीले दोस्रो भएको छ ।
सुमित्रा पण्डितको मुना हमालको संघर्षदेखि नेतृत्वसम्मको प्रेरणादायी यात्रा शीर्षकको स्टोरी उत्कृष्ट तेस्रोमा परेको छ । आशाका सपना, साहस, संघर्ष र दोहोरो जिम्मेवारी शीर्षकमा लेख्नु भएकी साहिदा साहको स्टोरीले सान्त्वना स्थान हासिल गर्न सफल भएको हो छ ।
विजेताहरुलाई क्रमश नगद आठ, पाँच, तीन र एक हजारका दरले पुरस्कृत गरिएको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय शुधान्सु कोइराला र सीता काफ्ले, लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री बादशाह कुर्मी र नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य अन्जना पाण्डेले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभएको हो । प्रतियोगितामा बाँकेमा क्रियाशील ६ जना पत्रकार महिलाले सहभागिता जनाउनु भएको थियो ।

नेपाल प्रेस युनियन बाँकेले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित सुधान्शु कोइराला र सीता काफ्लेलाई सम्मान गरेको छ । युनियनका बाँके अध्यक्ष कमल खत्रीले सदस्यद्वयलाई सम्मान गर्नुभएको हो । हालै सम्पन्न काँग्रेसको १५औं केन्द्रीय महाधिवेशनबाट केन्द्रीय कार्य समितिको सदस्यमा दुबै जना निर्वाचित हुनुभएको हो ।











