बर्दियाको मधुवनमा विद्यार्थीलाई ‘करियर’ परामर्श !
संजय आचार्य । गुलरिया
बालबालिका, किशोरकिशोरी तथा युवाहरूको शिक्षा, संरक्षण र समग्र विकासलाई लक्षित गर्दै बर्दियाको मधुवमा उत्प्रेरणा तथा करियर परामर्श कार्यक्रम सञ्चालन गरिएको छ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा राधाकृष्ण थारु जनसेवा केन्द्र र बाँके युनेस्को क्लबद्वारा सञ्चालित सुरक्षित भविष्य परियोजना अन्तर्गत मधुवन नगरपालिका वडा नम्बर १ र २ का पाँचवटा विद्यालयमा मंसिर १ गतेदेखि ५ गतेसम्म कार्यक्रम सञ्चालन गरिएको हो।
विद्यार्थीमा आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्ने, शैक्षिक तथा व्यावसायिक मार्गदर्शन प्रदान गर्ने र भविष्यमा उपयुक्त करियर छनोट गर्न सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको परियोजना संयोजक मनोज पौडेलले जानकारी दिनुभयो।
पौडेलका अनुसार कार्यक्रममा विद्यार्थीको शैक्षिक उपलब्धि सुधार, नियमित विद्यालय उपस्थिति, सिकाइप्रति रुचि अभिवृद्धि, सकारात्मक सोच र भविष्यको लक्ष्य निर्धारणलगायतका विषयमा सहजीकरण गरिएको थियो। साथै बालबालिकाको शिक्षा, संरक्षण र समग्र विकासमा शिक्षक तथा अभिभावकको भूमिका र जिम्मेवारीबारे समेत छलफल गरिएको थियो।
कार्यक्रममा १३६ छात्र र १५७ छात्रा गरी कुल २ सय ९३ जना विद्यार्थीको सहभागिता रहेको थियो। सहभागीमध्ये १३५ जना प्रायोजनमा आबद्ध बालबालिका र १२ जना प्रायोजनमा आबद्ध परिवारका सदस्य रहेको आयोजकले जनाएको छ।
मधुवनमा आयोजित कार्यक्रममा विद्यार्थीलाई आफ्नो रुचि, क्षमता र सम्भावनाको पहिचान गरी भविष्यको लक्ष्य निर्धारण गर्न प्रेरित गरिएको थियो।
कार्यक्रममा आत्मविश्वास तथा नेतृत्व विकास, शैक्षिक र व्यावसायिक मार्गदर्शन, करियर छनोटसम्बन्धी परामर्श तथा विद्यार्थी, शिक्षक र अभिभावकबीच सहकार्य अभिवृद्धिका विषय समेटिएका थिए।
विद्यार्थीको शैक्षिक उपलब्धि मात्र नभई उनीहरूको रुचि, क्षमता र भविष्यको योजनालाई समेत प्राथमिकता दिनुपर्नेमा कार्यक्रमले जोड दिएको छ। बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि विद्यालय, परिवार र समुदायबीच सहकार्य आवश्यक रहेको आयोजकको भनाइ छ।
सुरक्षित भविष्य परियोजनाले बालबालिका तथा युवाको शिक्षा, संरक्षण र समग्र विकासका लागि स्थानीय विद्यालय, परिवार तथा समुदायसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।











