नेपालगन्ज नाका एक साताका लागि बन्द
मेरो खुसी संवाददाता
नेपालगन्ज : कोरोना भाइरसको सन्त्रास बढ्दै गएपछि बाँकेको नेपालगन्जस्थित नेपाल–भारत सीमा नाका बन्द गरिएको छ ।
नेपाल र भारतका सुरक्षा अधिकारीहरुको भारतको उत्तर प्रदेशको बहराइच जिल्ला अन्तगर्त रुपैडिहामा आइतबार बिहान भएको छलफलमा जमुनाह नाका एक हप्तालाई शिल गर्ने सहमति भएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काका अनुसार एक हप्ताका लागि आकस्मिक बाहेकका सम्पूर्ण यात्रुहरुलाई रोक्ने सहमति भएको हो । आकस्मिक यात्रुहरु, सार्वजनिक सामान बोक्ने साधनहरु, अत्यावश्यक सवारीसाधन निर्वाध रुपमा सन्चालन हुने बताउँदै प्रजिअ खड्काले एक हप्तापछि अवस्था हेरेर निर्णय गरिने बताए ।
आइतबार बिहान भएको छलफलमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमाबहादुर खड्का, बाँके प्रहरी प्रमुख वीरबहादुर वली, शसस्त्र प्रहरी गुल्म ३० नं. गणका प्रहरी उपरीक्षक दीपक अधिकारी र भारत बहराइच जिल्ला अधिकारी सम्भु कुमार, बहराइचका एसपी विपिनकुमार मिश्रा सहितको दुई पक्षीय छलफल भएको हो ।
यसैबीच नेपालगन्ज उद्योग वाणिज्य संघलेसमेत अत्यावश्यक सेवा बाहेक अन्य पसल तथा व्यवसाय बन्द गर्न अपील गरेको छ । आइतबार बसेको संघको आकस्मिक बैठकले नेपाल सरकारको निर्देशन अनुसार अत्यावश्यक बस्तु तथा सेवाको काम बाहेकका सम्पूर्ण क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । संघले बजारमा माइकिङ गरेर बजार बन्द गरी सहयोग गर्न ब्यवसायीहरुलाई अनुरोध गरेको छ ।