सोमवार, माघ १२, २०७७ / Monday 25th January 2021

योग गरौं, निरोगी नेपाल बनाऔं : शिक्षा मन्त्री पोखरेल

गिरिराजमणी पोखरेल : मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि

नेपालगन्ज : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले नियमित रुपमा योगध्यान गरेर निरोगी नेपाल निर्माण गर्न आग्रह गरेका छन् ।
द आर्ट अफ लिभिङ नेपालले आइतबार आयोजना गरेको योगाथन (अनलाइन सूर्य नमस्कार प्रतियोगिता) को समापनको अवसरमा मन्त्री पोखरेलले व्यक्ति, परिवार, समाजहुँदै देश नै निरोगी बनाउने अभियानमा लाग्न आग्रह गरेका हुन् । उनले भने, ‘योग ध्यान, प्राणायाम गरौं । आफ्नो स्वास्थ्य आफै स्वस्थ राखौं । आफूले बुझेर मात्र हुन्न । परिवार र छिमेकीलाई बुझाऔं । निरोगी नेपाल निर्माण गरौं । यसका लागि अभियान नै सन्चालन गरौं ।’
योग ध्यानमा कुनै रोगको औषधि जस्तो ट्याब्लेट नभएकाले स्वयं साधनामा लाग्दा यसको गहिराइमा पुगिने र महत्व बुझ्ने उनको भनाइ थियो । योग र ध्यानका लागि कुनै निश्चित समय छुट्याउनुपर्ने उनको सुझाव थियो । उनको दाबी थियो, ‘योग ध्यान स्वयं व्यक्तिले साधना नगर्दासम्म आत्मानुभूति हुँदैन । दुःख मुक्तिका लागि योगध्यान बहुपयोगी ज्ञान हो ।’ कोभिड १९ को औषधि पत्ता नलागेकाले भाइरससँग लड्न रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि योग, ध्यान र आयुर्वेदमा ध्यान दिनुपर्ने उनको सुझाव थियो ।
प्राचीनकालको विज्ञान योग पाँच हजार वर्षभन्दा पहिलेदेखि प्रार्दुभाव भएर अस्तित्वमा रहेको उनले बताए । नेपालमा २०३६ सालदेखि योग दिवस मनाइदै आए पनि संयुक्त राष्ट्रसंघले सन् २०१४ देखि योग दिवस मनाउन थालिए पनि नेपालमा ०७२ सालदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय योग दिवसलाई एउटै बनाएर मनाउन थालिएको बताए ।
आधुनिक जीवन पद्दतीबाट मानसिक तनाव बढ्दै गएको भन्दै उनले शारीरिक, मानसिक र भावनात्मक रुपमा स्वस्थ हुन र उर्जाशील जीवनका लागि पनि योग उपयोगी हुने बताए । शारीरिक र मानसिक समस्या समाधान गर्न योग, ध्यान र प्रणायाम गर्न उनको सुझाव थियो । उनले कक्षा १ देखि योगलाई पाठ्यक्रममा समेटेको बताए । उनले योगबाट नेपालको पर्यटन प्रवद्र्धन गर्न सकिने र देशलाई समृद्ध बनाउन सकिने योजना सुनाए ।

सिद्धेश्वरकुमार सिंह : अध्यक्ष, द आर्ट लिभिङ नेपाल

कार्यक्रममा द आर्ट लिभिङ नेपालका अध्यक्ष सिद्धेश्वरकुमार सिंहले नेपालमा योग, ध्यान र आयुर्वेदको विकास र विस्तारमा नेपाल सरकारलाई संस्थाले सघाउन सक्ने प्रतिबद्धता जनाएका थिए । उनले कोरोनासँग जुध्नका लागि रोगप्रतिरोधात्मक क्षमता विकास गर्नका लागि योग, ध्यान, प्राणायामबाट मानसिक सन्तुलनलाई ध्यानमा सकारात्मक उर्जा प्राप्त गरी रोगसँग लड्न सक्ने दाबी गरे ।
कार्यक्रममा आर्ट अफ लिभिङका प्रशिक्षकहरु लीला लामिछाने, सौमाया गुरुङ, काव्य लम्सालले अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा विविध कार्यक्रम गरिने जानकारी दिएका थिए । कार्यक्रममा देशैभरीबाट एकैसाथ चार सयभन्दा बढीले अनलाइनमा सूर्य नमस्कार प्रतियोगितामा सहभागिता जनाएका थिए । १०८ राउण्ड (५४ सेट) सूर्य नमस्कार सम्पन्न गर्नेलाई स्वर्ण पदकको प्रमाणपत्र र सहभागी सबैलाई प्रमाणपत्र उपलब्ध गराइने कार्यक्रम संयोजक काव्य लम्सालले जानकारी दिए ।
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा द आर्ट लिभिङका संस्थापक अध्यात्मिक गुरु श्री श्री रविशंकर प्रत्यक्ष सहभागी हुने श्री श्री योग शिविर, राष्ट्रिय योग आशन फोटो प्रतियोगिता लगायतका कार्यक्रमका साथ दुुई हप्तासम्म आयोजना गरिने मिडिया संयोजक गौरव कँडेलले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *