बाँकेमा पौने ६ अर्बको बजेट (सूचीसहित)

नेपालगन्ज : बाँके जिल्लाका ८ वटै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि झन्डै ६ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन् ।
जिल्लाका स्थानीय तहले आर्थिक वर्ष ०७७/७८ मा बुधबार नगर र गाउँसभाबाट कूल ५ अर्ब ७१ करोड ५२ लाख ८३ हजार दुई सय ५१ रुपैयाँको बजेट ल्याएका हुन् । सबैभन्दा बढी बजेट नेपालगन्जले झन्डै डेढ अर्ब र सबैभन्दा कम बजेट नरैनापुरको सवा ५५ करोड ल्याएका छन् ।

नेपालगन्जको ७औं नगरसभामा उपप्रमुख उमा थापा मगरले एक अर्ब ४७ करोड ९६ लाख रुपैयाको बजेट प्रस्तुत गरेकी छन् । जुन चालु वर्षको बजेटभन्दा ५२ करोड ५६ लाख ९९ हजार रुपैयाँले कम हो ।
कोहलपुर नगरपालिकाले गत वर्षभन्दा ६ करोड रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ । उपप्रमुख सन्जुकुमारी थारुले सञ्जुकुमारी चौधरीले ७औं नगर सभामा ८६ करोड, १७ लाख १० हजार पाँच सय ११ रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।
खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले ७६ करोड ३७ लाख ४१ हजार ३ सय ८७ रुपैयाँको बजेट प्रस्तुत गरिन् । राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले चालु आर्थिक वर्षभन्दा अलि बढी ७९ करोड ३३ लाख ६ सय ९० रुपैयाँको बजेट ल्याएको बताए । प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीका अनुसार जानकी गाउँपालिकाले ५९ करोड ५६ लाख ८२ हजार ८० रुपैयाँको बजेट ल्याएको छ । नरैनापुरले ५५ करोड २८ लाख २३ हजार ३ सय ६०, बैजनाथले ६१ करोड १७ लाख ९५ हजार २ सय २० र डुडुवाले ५६ करोड ५७ लाख ५ हजार २ सय ४४ रुपैयाँको बजेट ल्याएको छ ।