लकडाउनले नेपालगन्ज मेडिकल कलेजलाई मासिक ५ करोड घाटा

मेडिकल कलेजमा कार्यरत १४०० कर्मचारीले दुई महिनादेखि तलब पाएनन्
नेपालगन्ज मेडिकल कलेजले आयोजना गरेको पत्रकार सम्मेलन । फोटो : मेरो खुसी

कोहलपुर : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले लकडाउनबाट मासिक ५ करोड घाटा भएको जनाएको छ । तीन महिनाको अवधिमा १५ करोड घाटा भएको छ ।
मेडिकल कलेजले शुक्रबार कोहलपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका प्रबन्ध निर्देशक डा.सुरेशकुमार कनोडिया लकडाउनका कारण मासिक ५ करोड घाटा हुँदा कर्मचारीलाई नियमित तलब दिन नसकेको बताए । त्यहाँ कार्यरत कर्मचारीले वैशाख र जेठ महिनाको तलब पाएका छैनन् । मेडिकल कलेजले नेपालगन्जमा दुई सय ५० शैया र कोहलपुरमा पाँच सय ५० शैयाको गरी आठ सय शैयाको अस्पताल सन्चालन गरेको छ । दुबै अस्पतालमा गरी एक हजार चार सयभन्दा बढी कर्मचारी छन् । डा.कनोडिया भन्छन्, ‘न्यूनतम् १५ हजार रुपैयाँदेखि चार लाख रुपैयाँ मासिक तलब खाने कर्मचारी छन् । तलबका लागि मात्र मासिक साढे ६ करोड चाहिन्छ । लकडाउनले अस्पतालको आम्दानी नै छैन । ऋण खोजेर तलब खुवाउनेबारे सोचिरहेका छौं ।’विगतमा दुबै अस्पतालमा गरी दैनिक एक हजारको हाराहारीमा बिरामी आउने गरेकोमा लकडाउन खुकुलो भए यता भने दैनिक दुई सय जनाको हाराहारीमा मात्र उपचार गर्न आउने गरेको अस्पतालले जनाएको छ ।