कोहलपुरका नगर प्रमुख रावत, उपप्रमुख चौधरीसहित १० जनाको रिपोर्ट नेगेटिभ

बागेश्वरी कोरोना प्रयोगशालामा कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतको स्वाब संकलन गरिँदै । फोटो सौजन्य : विमल बुढाथोकी 

कोहलपुर : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति पाएको नेपालगन्जको बागेश्वरी डायग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर प्रालिले सोमबार १० जना स्वाबबाट कोरोनाको परीक्षण गरेर काम सुरु गरेकोे छ ।
सेन्टरले कोहलपुरमा स्थापना गरेको प्रयोगशालामा पहिलो नमूना कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावत, उपप्रमुख सन्जुकुमारी चौधरीलगायत १० जनाको स्वाबबाट कोरोना परीक्षण गरेको थियो । प्रयोगशालाका सन्चालक विमल बुढाथोकीले नगर प्रमुख रावत, उपप्रमुख चौधरीलगायत सबै जनाको रिपोर्ट नेगेटिभ आएको बताए ।
सन्चालक बुढाथोकीले आफ्नो प्रयोगशालाबाट दैनिक ३ सय वटा नमूना परीक्षण गर्न सकिने बताएका छन् । सरकारले काठमाडौंका चार, बुटवल र नेपालगन्जका एक एक निजी प्रयोगशालालाई कोरोना परीक्षणका लागि अनुमति दिएको हो । प्रयोगशालाले सरकारले दिएको नमूना मात्र परीक्षण गर्न पाउनेछ । यो नमूना परीक्षण गरे वापत प्रयोगशालालाई सरकारले पाँच हजार पाँच सय रुपैयाँ उपलब्ध गराउनेछ ।