क्वारेन्टाइन नबसेका ११ मा कोरोना, १ जनाको मृत्यु
नेपालगन्ज : १ असारमा बैजनाथ गाउँपालिका–६ की ४६ वर्षकी महिलाको कोरोनाबाट ज्यान गयो । थर्ड लेभलको कोरोना अस्पताल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा उनको ज्यान गएको थियो । उनी विदेशबाट आएकी होइनन् । न क्वारेन्टाइनमा बसेकी हुन् न त उनको परिवारका कोही सदस्य नै विदेशबाट आएका थिए । उनलाई कोरोना देखिएपछि परिवारका सदस्य सबैको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो तर उनलाई कोरोना कहाँबाट सरेको हो भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
त्यसो त, बाँकेकै पहिलो संक्रमित व्यक्ति पनि क्वारेन्टाइनमा बसेका होइनन् । १९ वैशाखमा नेपालगन्ज उपमहानगरपालिका–५ डीएसपी रोडका ६० वर्षका पुरुषलाई कोरोना संक्रमण भयो । नेपालगन्ज–८ जोलाहनपूर्वाको मस्जिदमा काम गर्ने उनी भारतबाट आएर घरमै बसेका थिए । धार्मिक स्थलमा कोरोना परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । उनको सम्पर्कमा रहेको २५ बढीलाई कोरोना संक्रमण भयो । डब्लुएचओको टोलीले अध्ययन गर्दा पनि उनलाई कहाँबाट कोरोना सरेको हो पुष्टि भएको छैन । उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
बाँकेका पहिलो स्वास्थ्यकर्मी र पत्रकार दम्पत्तिको कोरोना संक्रमण पनि कहाँबाट कसरी भयो थाहा हुन सकेको छैन । नरैनापुरको प्रहरी चौकीका कोरोना देखिएका प्रहरी जवान पनि क्वारेन्टाइनमा बसेका होइनन् । पहिलो संक्रमितदेखि मिठाई पसले, आन्तरिक राजस्व कार्यालय नेपालगन्जका शाखा अधिकृत र यातायात व्यवस्था कार्यालयकी महिला कम्प्युटर अपरेटर कोही पनि क्वारेन्टाइनमा बसेका थिएनन् । उनीहरुलाई कसरी कोरोना संक्रमण भयो, खोजीको विषय भएको छ ।
जिल्लामा पछिल्लो समय रेन्डम सेम्पलिङका आधारमा कोरोना परीक्षण गर्दा धमाधम पोजेटिभ केस देखा पर्न थालेका छन् । जिल्लाका कूल ४०४ जनामा कोरोना संक्रमण भएकोमा ११ जना क्वारेन्टाइनमा नबसेर नै कोरोना पोजेटिभ रिपोर्ट आएका छन् । तीमध्ये एक जनाको ज्यान नै गएको छ । क्वारेन्टाइनमा नबसेर नै कोरोना रिपोर्ट पोजेटिभ आउने कूल संक्रमितको २.७२ प्रतिशत हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठ क्वारेन्टाइनमा नबसेका व्यक्तिमा धमाधम कोरोना देखिनुलाई ‘समुदायमा कोरोना छ भन्ने संकेत’ को रुपमा लिन्छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले केही दिन अघि फेसबुकमा स्टाटस लेखेका छन्, ‘बन्दाबन्दीपछि बाँकेमा समुदायमै पोजेटिभ केस बढिरहेको छ । हामी अहिलेसम्मकै उच्च जोखिमममा छौं । सचेत बनौं ।’