सुरु भयो दशैं : आज घटस्थापना, जमरा राख्ने उत्तम साइत ११:४६

नेपालगन्ज : हिन्दुहरुको महान् पर्व बडादशैँ सुरू भएको छ।
हरेक वर्ष आश्विन शुक्ल प्रतिपदाको दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ अर्थात जमरा राख्ने गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार घटस्थापनाको साइत शनिबार बिहान ११ः४६ बजे रहेको छ। नवरात्रको पहिलो दिन बिहानै नित्य कर्म गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौको जमरा रोपिन्छ।
दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ।
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीक चण्ड, मुण्ड, शुम्भ, निशुम्भ, रक्तबीजलगायत राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ।
विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ। पञ्चाङ्ग समितिका अध्यक्ष गौतमका अनुसार कात्तिक १० गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ। टीकाको साइत कात्तिक १० गते १०ः१९ बजे रहेको छ । दशैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ।