भेरी अस्पतालको इमरजेन्सीमा उपचार गर्न आएका ५४ प्रतिशतको निःशुल्क उपचार

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जको इमरजेन्सीमा उपचार गर्न आएका ५४ प्रतिशत बिरामीले निःशुल्क उपचार पाएका छन् ।
कार्तिक १ गते र २ गतेको अपरान्ह ५ बजेसम्म ४६ जनाले इमरजेन्सीमा सेवा लिएकोमा २५ जनाको निःशुल्क उपचार भएको हो । २१ जनाले मात्र शुल्क तिरेका थिए । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाशबहादुर थापाले गरिब तथा विपन्न र बेवारिसे व्यक्तिलाई प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य उपचार निःशुल्क गरिएको बताए । उनले भने, ‘शुल्क तिर्न सक्ने व्यक्तिलाई निःशुल्क हुँदैन । कोही व्यक्ति दुर्घटना परेर वा अकस्मात इमरजेन्सीमा आयो । ऊसँग पैसा नभएकै कारण अब उपचारबाट बञ्चित हुनु पर्दैन ।’ संंघीय सरकारको आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम अनुसार भेरी अस्पतालसहित देशभरका १५ वटा अस्पतालमा प्रारम्भिक चरणको आकस्मिक सेवा निःशुल्क भएको छ ।