प्युठान, दाङ र बाँकेमा बढी बाल विवाह

लुम्बिनी प्रदेश प्रहरीको तथ्याङ्कमा नवलपरासी, पाल्पा र रोल्पामा ३ वर्षमा एउटा पनि बाल विवाह भएन
बाल विवाहविरुद्ध प्रहरी अभियान। फोटो सौजन्य : लुम्बिनी प्रदेश प्रहरी कार्यालय

नेपालगन्ज : लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये ९ जिल्लामा बाल विवाह भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश प्रहरीले बिहीबार १५ दिने बाल बिवाह बिरुद्ध प्रहरी अभियान कार्यक्रम घोषणा गर्दै तीन आर्थिक वर्षमा भएको बाल विवाहको आधारमा प्युठानमा सबैभन्दा बढी १९ वटा बालविवाह भएको तथ्याङ्क सार्वजनिक गरेको हो । प्युठानमा आर्थिक वर्ष ०७४/७५ मा १२, ०७५/७६ मा ६ र ०७६/७७ मा १ वटा बालविवाह भएको जनाएको छ । अर्घाखाँचीमा हरेक वर्ष एक एक जना गरी तीन जना र गुल्मीमा २ जनाको बाल विवाह भएको छ ।
त्यसपछि यो अवधिमा दाङमा बढी १३ बाल विवाह भइरहेको प्रहरी रेकर्डमा देखिन्छ । तेस्रो बढी बाल विवाह हुने जिल्लामा बाँके पर्छ । जहाँ यही अवधिमा ८ जनाको बालविवाह भएको छ । बर्दिया, रुपन्देही, कपिलवस्तु र रुकुममा एक एक वटा मात्र बाल विवाह भएको छ । यही अवधिमा नवलपरासी, पाल्पा र रोल्पामा ३ वर्षमा एउटा पनि बाल विवाह भएन । यो तथ्याङ्क प्रहरीले मुद्दा चलाएको आधारको मात्र हो । बाल विवाहका धेरै मुद्दा नै चल्दैनन् । त्यसैले समाजमा बाल विवाह कायमै रहेको छ ।
प्रदेश प्रहरीले बाल विवाहविरुद्ध अभियानमा असोज १४ गतेदेखि २८ गतेसम्म बाल बिवाहबिरुद्ध प्रहरी अभियान कार्यक्रम घोषणा गरेको छ । बालविवाह गैह्रकानुनी कार्य हो भनी जनचेतना अभिबृद्धी गर्ने, बालविवाह गराउनेलाई कानुनी कारवाही गर्ने र बालविवाहबिरुद्ध प्रहरी अभियानको सहकार्यमा अभिवृद्धि गर्ने अभियानको उद्देश्य रहेको छ ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय ५/५ वटा, वडा प्रहरी कार्यालयबाट ३ र प्रहरी चौकीबाट २/२ वटा कार्यक्रम गरी प्रदेशभरी एक हजार दुई सय ३१ वटा कार्यक्रम हुनेछन् । अभियानमा स्थानीय तह, संघसंस्था, उद्योग बाणिज्य संघ, क्लब, संचार माध्यम र अन्य सरोकारवाला निकायसँग सहकार्य हुनेछ । जसअन्तर्गत प्रहरी कार्यालय अगाडि, बजार, राजमार्गमा व्यानरर प्लेकार्ड राख्ने, डिउटीमा रहेका प्रहरीबाट प्लेकार्ड देखाउने, बढी मानिसहरू हिडडुल गर्ने स्थानहरूमा पोस्टर राख्ने, समय समयमा गाउँमा माईकिङ गरी दिने, रेडियोबाट अभियानको जानकारी गराउने, पालिका, वडा र गाउँ स्तरमा सरोकारसंग अन्तरक्रिया गर्ने र बजार एरियामा २र३ जना सानो समूहमा अभियानबारेमा जानकारी गराउने रहेको छ । प्रदेश प्रहरीले सम्पूर्ण गतिविधि गर्दा कोरोनाबारे सुरक्षित मापदण्ड प्रयोग गर्न निर्देशन दिएको छ ।