सोमवार, माघ १२, २०७७ / Monday 25th January 2021

खाद्य कम्पनी नेपालगन्जमा कुपन प्रणालीबाट धान खरिद

नेपालगन्ज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले कुपन प्रणालीबाट धान खरिद कार्य सुरु गरेको छ ।
कम्पनीले कोरोना कहरका साथै कृषकहरुको सहजताका लागि कुपन वितरण गरेर तोकिएको दिनमा बोलाएर धान खरिद गरिरहेको छ । कुपन प्रणाली लागू भएपछि धान बिक्रिका लागि डनलप, टयाक्टरलगायतले खचाखच भरिने, बर्षातका कारण धान भिज्ने, बिग्रने र हप्तौसम्म पालो कुर्दै रात बिताउनुपर्ने अवस्थाको यस वर्ष अन्त्य भएको कम्पनीले जनाएको छ । ‘कुपनमा कृषकको विवरणसहित बेच्ने धानको अनुमानित परिमाण र कृषकले धान लिएर आउने दिन तोकिएको हुन्छ’ मुख्य शाखा प्रमुख निर्मल थापाले भने ‘उक्त दिनमै धान किनबेच हुन थालेपछि हामी सबैलाई सजह भएको छ ।’ एकैदिन धेरै धान नआओस भनेर एउटा कुपनमा ५० क्वीन्टलसम्म धान बिक्रि गर्न पाइने नियम बनाएको उनले बताए ।
कुपन प्रणालीबाट धान खरिद भएपछि सहज भएको कृषकले बताएका छन् । धान खरिद बिक्रिमा सहजताका लागि कुपन प्रणाली लागू गरे पनि कुपन वितरणमा भने भीँडभाड भएको छ । जस्का कारण कोरोनाको जोखिम बढेको कृषकको गुनासो छ ।


कम्पनीको मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्ष पहिलो चरणमा ४० हजार क्वीन्टल मोटो र मध्यम धान खरिद गर्ने लक्ष्य राखेको छ । हाल कम्पनीको मुख्य शाखा कारकाँदो नेपालगन्जबाट खरिद भइरहेकोमा त्यहाँको गोदाम भरिएपछि नेशनल ट्रेडिङ्ग नेपालगन्जबाट खरिद गर्ने कम्पनीको तयारी छ । सरकारले मोटा धान प्रति क्वीन्टल २ हजार ७ सय ३५ रुपैयाँ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँमा कम्पनीमा धान समर्थन मूल्य तोकेको छ । कम्पनीले यही दररेटमा धान खरिद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *