‘बालविवाह रोक्न बडघर परिचालन गर्नुपर्ने’
मुरली गोडिया । गुलरिया
बर्दियाको मधुवन नगरपालिकाका जनप्रतिनिधिले बालविवाह रोक्न बडघरलाई परिचालन गर्नुपर्नेमा जोड दिएका छन् ।
नगरपालिकाकी उपप्रमुख सुवरानी थारु ‘चेतना’ बालविवाह रोक्न गाँउ गाँउबाट स्थानीय बडघरहरुलाई सक्रिय पार्न अवश्यक रहेको बताउँछिन् । बढ्दो बाल विवाहले विभिन्न समस्या निम्तिने हुँदा आफूहरुले वडघरमार्फत बालविवाह न्युनिकरणको लागि अभियान चलाउनु पर्ने अवश्यकता रहेको वडा नम्वर ४ वडा अध्यक्ष बिन्तिराम थारु बताउँछन् ।
बालविवाह न्यूनिकरणको लागि कार्यविधि, रणनीतिहरु बनाउने, बालबालिकाको अधिकारको लागि सचेतना जगाउने कार्य गरिरहँदा पनि बालविवाहमा कमि भएको महसुस नभएको जनप्रतिनिधिले चिन्ता व्यक्त गरेका छन् । मधुवन नगरपालिका १ देखि ९ वटै वडाहरु बालविवाह न्यूनिकरणको लागि सचेतनामूलक कार्यक्रम गरे पनि बालविवाह नरोकिएको वडा नं. ७ का वडा अध्यक्ष राजेन्द्र हमाल बताउँछन् । प्लान इन्टरनेशनल क्षेत्रीय कार्यालय सुर्खेतको सहयोगमा बाँके युनेस्के क्लब नेपालगन्जले मधुवनलगायत जिल्लाका विभिन्न स्थानीय तहमा बालविवाह संरक्षण परियोजना सञ्चालन गरेको छ ।